राष्ट्रपतिको चुनाव हारेपछि बोल्सोनारो ब्राजिलबाट अमेरिका पलायन, पत्नी र दुई छोरी पनि साथमा

राष्ट्रपतिको चुनाव हारेपछि बोल्सोनारो ब्राजिलबाट अमेरिका पलायन, पत्नी र दुई छोरी पनि साथमा

ब्राजिल सरकारले राहदानी रद्द गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्रासिलिया- ब्राजिलमा राष्ट्रपति चुनाव हारेका दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारो अमेरिका पलयान भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार फ्लाभियोका एक सहयोगीले मंगलबार उनी अमेरिका गएको पुष्टि गरेका हुन् । उनकी पत्नी र दुई छोरी पनि उनीसँगै रहेको बताइएको छ ।

फ्लाभियोले अमेरिकामा राजनीतिक शरण माग्न सक्ने सम्भावना रहेको समाचारमा उल्लेख छ । ब्राजिल सरकारले भने अदालतको आदेशअनुसार राहदानी बुझाउन नसकेपछि उनको राहदानी रद्द गरेको छ ।

फ्लाभियो आइतबार भएको राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएका थिए । मतगणनाको दोस्रो चरणमा लुलाले ५२ प्रतिशत मत प्राप्त गर्दा फ्लाभियोले ४८ प्रतिशत मत पाएका थिए ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो । पराजयपछि फ्लाभियोले चुनावी परिणाम स्वीकार गरेका थिएनन् ।

राहदानी बुझाउन अदालतको आदेश

ब्राजिलको सर्वोच्च अदालतले सोमबार फ्लाभियोलाई २४ घण्टाभित्र आफ्नो राहदानी बुझाउन आदेश दिएको थियो । उनीमाथि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीलगायतका आरोपमा अनुसन्धान भइरहेको छ ।

अनुसन्धानबाट बच्न उनी देश छाड्न सक्ने आशंकाबीच प्रहरीले उनको गतिविधिमाथि निगरानी बढाएको थियो । मंगलबार बिहान ११ बजेसम्म उनले राहदानी नबुझाएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

मंगलबार साँझसम्म पनि राहदानी नबुझाएपछि अधिकारीहरूले उनको राहदानी रद्द गरेका थिए ।

यद्यपि, फ्लाभियोले सोमबार इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफूले देश छाड्नेबारे कहिल्यै नसोचेको बताएका थिए । उनले राहदानी बुझाउने र आफूमाथि लागेका आरोपको सामना गर्ने बताएका थिए ।

ट्रम्पले स्वागत गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाभियो अमेरिका आउन चाहे आफूले अनुमति दिने बताएका छन् । ट्रम्पले उनलाई असल व्यक्ति भन्दै ब्राजिलको चुनावलाई अनौठो र निकै खराब भएको टिप्पणी गरेका थिए ।

यसअघि ट्रम्पले ब्राजिलको चुनावी परिणाममाथि प्रश्न उठाउँदै धाँधली भएको दाबी गरेका थिए । तर, त्यसको समर्थनमा उनले कुनै प्रमाण प्रस्तुत गरेका थिएनन् ।

फ्लाभियोले चुनावी अभियानका क्रममा अमेरिकासँगको सम्बन्ध थप मजबुत बनाउने वाचा गरेका थिए । अर्कोतर्फ, लुलाले ट्रम्पमाथि ब्राजिलको निर्वाचनमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।

अर्जेन्टिनाको बाटो हुँदै अमेरिकातिर

फ्लाभियो अमेरिका गएको खबर सार्वजनिक भएपछि उनी पहिले अर्जेन्टिना पुगेको हुन सक्ने चर्चा पनि चलेको थियो । अर्जेन्टिनामा उनका निकट सहयोगी तथा दक्षिणपन्थी राष्ट्रपति हाभियर मिलेईको सरकार छ ।

रिपोर्टअनुसार ब्राजिल र अर्जेन्टिनाको सीमाक्षेत्रनजिकै रहेको इगुआजु विमानस्थलमा एउटा निजी विमान अवतरण गरेको थियो । अधिकारीहरूले विमान र त्यसका चालक दलका सदस्यहरूको जाँच गरे पनि उडानसम्बन्धी कागजातमा बोल्सोनारो परिवारका कुनै सदस्यको नाम भेटिएन ।

अर्जेन्टिनाको सरकारले पनि फ्लाभियो आफ्नो देश आएको कुनै अभिलेख नरहेको जनाएको छ । ब्राजिल प्रहरीले भने उनी कुनै आधिकारिक सीमा नाकाबाट देश छाडेर नगएको बताएको छ ।

बुवा पनि चुनाव हारेपछि अमेरिकातिरै

फ्लाभियोका पिता तथा ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो पनि सन् २०२२ मा लुलासँग चुनाव हारेपछि अमेरिका गएका थिए । उनले पनि त्यसबेला चुनावी परिणाम स्वीकार गरेका थिएनन् ।

ब्राजिल फर्किएपछि जैरलाई सत्ता पलटको षड्यन्त्र गरेको अभियोगमा पक्राउ गरिएको थियो । उनलाई उक्त प्रकरणमा २७ वर्षको जेल सजाय सुनाइएको थियो ।

फ्लाभियोका भाइ एडुआर्डो बोल्सोनारो पनि अमेरिकामा बस्दै आएका छन् । उनले चुनावअघि फ्लाभियो पराजित भए ब्राजिल छाड्नुपर्ने बताएका थिए ।

भ्रष्टाचारदेखि फिल्म निर्माणसम्मका आरोप

फ्लाभियोमाथि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीलगायतका विषयमा अनुसन्धान भइरहेको छ । उनका पिताको जीवनमा आधारित फिल्म निर्माणका लागि रकम जुटाउने प्रयाससम्बन्धी विषय पनि अनुसन्धानको दायरामा रहेको समाचारमा उल्लेख छ ।

फ्लाभियोले पूर्वबैंकर ड्यानियल भोर्कारोसँग फिल्म निर्माणका लागि करिब १ करोड २० लाख अमेरिकी डलर जुटाउने प्रयास गरेको स्वीकार गरेका थिए । तर, उनले कुनै गैरकानुनी काम गरेको आरोप अस्वीकार गर्दै आएका छन् ।