काठमाण्डु – बंगालको खाडीबाट बुधबार भारत आइपुगेको अति शक्तिशाली चक्रवात ंअर्नब’को प्रभाव नेपालमा पनि उल्लेखनीय रूपमा पर्ने भएको छ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि नेपालमा अर्नबको उल्लेखनीय प्रभाव पर्ने जनाएको छ । यो चक्रपातका कारण गएरातिदेखि नै देशभर साधारणतया बादल लागे पनि वर्षा भएको छैन।
महाशाखाले बिहीबारदेखि यो चक्रपातको उल्लेखनीय प्रभाव देखिने भएकाले आफ्नो स्थानअनुसार मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह पनि गरेको छ ।
महाशाखाका अनुसार पश्चिममध्य बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात अर्नब भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट बुधबार बिहान सवा ८ बजेतिर जमिनमा प्रवेश गरेको हो।
जसको प्रभावले नेपालमा बिहीबारदेखि शनिबारसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन तथा चट्याङ, असिनासहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
यसैगरी तीन दिन कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा समेत भारी वर्षा तथा हिमपातको सम्भावना छ।








प्रतिक्रिया