तेल अभिभ- इजरायलको निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मतगणना सकिँदासमेत नयाँ सरकार गठनको तस्वीर स्पष्ट हुन सकेको छैन।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र विपक्षी नेता गादी आइजनकोट नेतृत्वका दुवै राजनीतिक गठबन्धन संसद्मा स्पष्ट बहुमत जुटाउन असफल देखिएका छन्।
तर, बहुमत नपुग्दैमा नेतन्याहूको सत्ता यात्रा समाप्त हुने अवस्था छैन। विपक्षी खेमाका सांसदको समर्थन, राष्ट्रिय एकताको सरकार वा अल्पमत सरकारमार्फत उनी पुनः सत्तामा टिकिरहन सक्छन्।
इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन्। सरकार गठनका लागि सामान्यतः ६१ सांसदको समर्थन आवश्यक पर्छ।
तर, निर्वाचनबाट कुनै पनि गठबन्धनले स्पष्ट बहुमत नल्याउँदा सरकार गठनको निर्णायक शक्ति साना दल, असन्तुष्ट सांसद र गठबन्धनबाहिरका राजनीतिक समूहको हातमा पुग्न सक्छ।
यसपटकको चुनावी समीकरणमा अरब राजनीतिक दलहरूको भूमिका पनि महत्त्वपूर्ण देखिएको छ। ती दलसँग जोडिएका १९ सिटले नेतन्याहूविरोधी खेमालाई सैद्धान्तिक रूपमा ६७ सिटसम्म पुर्याउन सक्छन्।
तर, अरब दलसँग औपचारिक गठबन्धन गर्न अनिच्छुक यहूदी दलहरूका कारण आइजनकोटका लागि यो अंकलाई वास्तविक संसदीय बहुमतमा बदल्नु चुनौतीपूर्ण छ।
यही परिस्थितिमा दुवै नेताका लागि सरकार गठनका वैकल्पिक बाटा खुला छन्। निर्णायक प्रश्न कसले सबैभन्दा धेरै सिट जित्यो भन्ने मात्र होइन, संसद्मा सरकारलाई आवश्यक समर्थन कसले जुटाउन सक्छ भन्ने हो।
नेतन्याहूका तीन विकल्प
विपक्षी गठबन्धनका सांसदलाई आफ्नो पक्षमा ल्याउने : नेतन्याहूले विपक्षी गठबन्धनमा रहेका कुनै दल वा सांसदलाई आफ्नो पक्षमा ल्याउने प्रयास गर्न सक्छन्। त्यसका लागि सरकारमा सहभागिता, महत्त्वपूर्ण मन्त्रालय वा नीतिगत सहमतिजस्ता विषयमा सम्झौता गर्नुपर्ने हुन सक्छ।
विश्वासको मतमा केही विपक्षी सांसदले नेतन्याहूलाई समर्थन गरे वा मतदानमा अनुपस्थित रहे भने सरकार गठनको बाटो सहज हुन सक्छ। तर, चुनावमा नेतन्याहूलाई हटाउने प्रतिबद्धता जनाएका विपक्षी नेताहरूलाई आफ्नो पक्षमा ल्याउनु सजिलो छैन।
राष्ट्रिय एकताको सरकार बनाउने : दोस्रो विकल्प विपक्षी नेताहरूसँग मिलेर राष्ट्रिय एकताको सरकार बनाउनु हो। यसमा पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट वा आइजनकोटजस्ता नेताको सहभागिता सम्भव हुन सक्छ।
तर, यस्तो सरकार बनाउन प्रधानमन्त्री पदको बाँडफाँट, अति-दक्षिणपन्थी दलहरूको भूमिका, अनिवार्य सैनिक सेवासम्बन्धी विवाद र अन्य नीतिगत विषयमा सहमति आवश्यक पर्छ। नेतन्याहूका वर्तमान सहयोगीले विपक्षीसँग सत्ता बाँड्न अस्वीकार गरे यो विकल्प पनि कठिन हुनेछ।
अल्पमत सरकार गठन गर्ने : तेस्रो विकल्प संसद्मा ६१ सिट नपुगे पनि आवश्यक संसदीय समर्थन जुटाएर सरकार चलाउनु हो।
अरब दलहरू सरकारमा सहभागी नभए पनि विश्वासको मतमा तटस्थ बसे वा सरकारविरुद्ध मतदान नगरे अल्पमत सरकार गठनको सम्भावना रहन सक्छ। तर, बजेट पारित गर्ने, कानुन बनाउने र महत्त्वपूर्ण निर्णय कार्यान्वयन गर्ने क्रममा यस्तो सरकारलाई निरन्तर चुनौती हुनेछ।

आइजनकोटका तीन बाटा
अरब दलहरूको समर्थनमा सरकार बनाउने : आइजनकोट नेतृत्वको गठबन्धनसँग ४८ सिट छन्। अरब दलहरूको १९ सिट जोड्दा ६७ सिट पुग्छ, जुन सरकार बनाउन आवश्यक ६१ सिटभन्दा ६ सिट बढी हो।
अर्थात्, अंकगणितका हिसाबले अरब दलहरूको समर्थन आइजनकोटका लागि सबैभन्दा सीधा बाटो हो। तर, अरब दलसँग औपचारिक गठबन्धन वा सत्ता साझेदारी गर्न नचाहने यहूदी दलहरूका कारण यो विकल्प राजनीतिक रूपमा संवेदनशील छ।
अरब दलहरूले सरकारमा सहभागी नभई विश्वासको मतमा समर्थन गर्न सक्ने सम्भावना पनि छ। तर, त्यस्तो समर्थन जुटाउने विषयमा सबै विपक्षी दल सहमत हुनुपर्नेछ।
नेतन्याहू पक्षका सांसदलाई आफ्नो गठबन्धनमा ल्याउने : आइजनकोटले नेतन्याहूको गठबन्धनमा रहेका केही सांसदलाई आफ्नो पक्षमा ल्याउने प्रयास गर्न सक्छन्। त्यसका लागि नेतन्याहूका दक्षिणपन्थी तथा धार्मिक सहयोगी दलभित्र असन्तुष्ट रहेका सांसदको समर्थन आवश्यक पर्न सक्छ।
तर, नेतन्याहूको गठबन्धनबाट सांसद बाहिरिए पनि ४८ सिटको गठबन्धनलाई बहुमतसम्म पुर्याउन पर्याप्त संख्या जुटाउनुपर्नेछ। त्यसैले यो विकल्पमा राजनीतिक सहमति र सांसदको कित्ता परिवर्तन निर्णायक हुनेछन्।
अल्पमत सरकार बनाएर बाह्य समर्थन जुटाउने : आइजनकोटले पनि ६१ सिट नपुर्याई सरकार गठन गर्ने प्रयास गर्न सक्छन्। यसका लागि गठबन्धनबाहिरका दलहरूको विश्वासको मतमा समर्थन वा तटस्थता आवश्यक हुनेछ।
तर, अरब दलहरूको समर्थनबारे विपक्षी गठबन्धनभित्रै मतभेद छ। अर्कोतर्फ, एभिग्डोर लिबरम्यानजस्ता नेताहरूले अल्पमत सरकारको विकल्पप्रति आपत्ति जनाएका छन्। त्यसैले आइजनकोटका लागि सरकार बनाउनु मात्र होइन, त्यसलाई टिकाइराख्नु पनि उत्तिकै कठिन हुनेछ।
अब के हुन्छ?
इजरायलका राष्ट्रपति इसाक हर्जोगले अन्तिम निर्वाचन परिणाम सार्वजनिक भएपछि राजनीतिक दलका नेताहरूसँग परामर्श गर्नेछन्। त्यसपछि सरकार गठनका लागि उपयुक्त नेताले अवसर पाउनेछन्। नयाँ सरकार नबन्दासम्म नेतन्याहू कामचलाउ प्रधानमन्त्रीका रूपमा रहनेछन्।
अब
- नेतन्याहूले आफ्नो ५३ सिटको गठबन्धनलाई ६१ सिटसम्म पुर्याउन सक्छन् कि सक्दैनन् ?
- आइजनकोटले अरब दलहरूको समर्थन स्वीकार गरेर सरकार गठनको बाटो खोल्छन् कि खोल्दैनन् ?
- राष्ट्रिय एकताको सरकार गठन गर्न नेतन्याहू र विपक्षी नेताबीच सहमति हुन्छ कि हुँदैन ?
- कुनै पनि विकल्प सफल नभए इजरायल फेरि निर्वाचनतर्फ जान्छ कि जाँदैन ?
अहिले मतगणनाअनुसार नेतन्याहू नेतृत्वको गठबन्धन ५३ सिटमा र आइजनकोट नेतृत्वको गठबन्धन ४८ सिटमा देखिएका छन्। अरब दलहरूले संयुक्त रूपमा १९ सिट पाउने अनुमान छ। यद्यपि, विशेष मतपत्रको गणना बाँकी रहेकाले अन्तिम परिणाम फरक पर्न सक्छ।
इजरायलको निर्वाचनमा नेतन्याहूले बहुमत नपाए पनि सत्ता जोगाउने सम्भावना कायम छ। आइजनकोटका लागि पनि सरकार गठनको बाटो अझै बन्द भएको छैन। अबको राजनीतिक संघर्ष सिट जित्नेभन्दा बढी संसद्मा समर्थन जुटाउने र त्यसलाई टिकाइराख्ने दौडतिर देखिँदैछ।


प्रतिक्रिया