काठमाण्डु – शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्रीहरू र प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु भएको छ ।
कात्तिक १३ गतेसम्म सञ्चालन हुने सम्मेलनको संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गरे ।
सम्मेलनमा विभिन्न प्रदेशका मन्त्री, विश्वविद्यालयका उपकुलपति तथा कुलपति, रजिस्ट्रार, प्रदेश सरकारका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर विशिष्ट अतिथिका रूपमा सहभागी छन् । उद्घाटन सत्रमा अध्यक्ष पौडेलले उच्च शिक्षासम्बन्धी प्रस्तुति दिए ।
सम्मेलनको पहिलो दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशमा शिक्षा क्षेत्रमा भएका असल अभ्यास, उपलब्धि तथा चुनौतीबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ । साथै, प्रदेशहरूबीच सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्न छलफल गरिनेछ ।
सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा शिक्षा क्षेत्रमा देखिएका अवसर तथा चुनौती, संघ र प्रदेशबीचको समन्वय, प्रदेश विश्वविद्यालयहरूको संस्थागत विकास र उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका विषयमा छलफल हुने जनाइएको छ ।
त्यसैगरी, प्रदेशहरूबीच शैक्षिक ज्ञान, अनुभव र स्रोतको आदानप्रदान गर्दै उच्च शिक्षाको विकासका लागि साझा रणनीति निर्माण गर्ने विषयलाई समेत सम्मेलनले प्राथमिकता दिने अपेक्षा गरिएको छ ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले प्रदेशस्तरको शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन, उच्च शिक्षाको विकासमा सहकार्यका क्षेत्र पहिचान गर्न तथा आगामी दिनमा अवलम्बन गर्न सकिने नीतिगत र व्यावहारिक उपायबारे साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया