काठमाण्डु– निर्वाचन प्रहरीका लागि पोशाक खरिदमा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न गठित संसदीय उपसमिति बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् खगेन्द्र सुनार अनुपस्थित भएका छन् ।
समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सुनार अनुपस्थित भएका हुन् । एक महिलासँग भएको कुराकानीको अश्लील अडियो सार्वजनिक भएपछि विवादमा परेका सुनार रास्वपा अनुशासन आयोगको छानबिनमा छन् ।
रास्वपाले आन्तरिक छानबिन नसकिँदासम्म सार्वजनिक कार्यक्रममा सहभागी नहुन र सांसदका रूपमा कुनै गतिविधि नगर्न उनलाई निर्देशन दिएको थियो ।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उपस्थित प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि सुनारले निर्वाचन प्रहरीको पोशाक र जुत्ता खरिदमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।
लेखा समितिले १६ असोज २०८३ मा दुई महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेशसहित रास्वपा सांसद् मनिष झाको संयोजकत्वमा गठन गरेको ९ सदस्यीय उपसमितिमा सुनार पनि सदस्य छन् ।
समितिले प्रहरी र सशस्त्र प्रहरीसँग पोशाक खरिदसम्बन्धी विवरण मगाएर अध्ययन थालेको छ । ३० कात्तिकभित्र प्रतिवेदन तयार पार्ने गरी कार्यविधि तय गरिएको उपसमिति संयोजक झाले बताए ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रहरीले १ लाख ३३ हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी भर्ना गरेको थियो ।


प्रतिक्रिया