काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले बिहीबारदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हालेको छ।
ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आयोजित विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै जिम्मेवारी सम्हालेका हुन्।
बिहीबार दिउँसो ३ बजे आयोजित समारोहमा सभापति गगनकुमार थापाले अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका थिए।
थापाले भने यसअघि नै असोज ३१ गते दसैँको फूलपातीका दिन पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटकको शपथ ग्रहण कार्यक्रम विगतको भन्दा फरक ढाँचामा सम्पन्न गरिएको हो।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरणसँगै पदबहालीसमेत गराइएको उनले जानकारी दिए।
शपथ ग्रहण र पदबहालीसँगै कांग्रेसको नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको छ। यससँगै बिहीबार नै पार्टी केन्द्रीय कार्यालय सानेपामा नयाँ कार्यसमितिको पहिलो बैठक पनि बस्दैछ।

एक सातामै मतगणना सम्पन्न
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा विभिन्न कार्यक्रम भएका थिए। मतदान असोज २३ गते भएको थियो भने निर्वाचनको अन्तिम परिणाम असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।
सभापति पदको मतगणना मतदान भएकै दिन राति राष्ट्रिय सभागृहमा सुरु भएको थियो। त्यसको परिणाम असोज २४ गते बिहान सार्वजनिक गरिएको थियो। अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा गरिएको थियो।
निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार यसपटक ७ हजार ३९२ मतदाताको मतगणना एक साताभित्र सम्पन्न भएको हो। यसअघि १४औँ महाधिवेशनमा करिब ४ हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो।
यसपटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको उनले बताए। कुल २२९ पदका लागि निर्वाचन भएको थियो। निर्वाचनमा ७७ प्रकारका पदका लागि उम्मेदवारी परेको थियो भने प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो।
गगनको नेतृत्वको कार्यसमिति
१५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। नयाँ कार्यसमितिमा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।
त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला पन्त निर्वाचित भएका छन्। नयाँ कार्यसमितिमा विभिन्न समावेशी समूह तथा क्षेत्रको प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यहरू रहेका छन्।
पहिलो बैठक बस्दै
नयाँ कार्यसमितिको पहिलो बैठकले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, केन्द्रीय निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्ने विषयमा निर्णय गर्ने तयारी छ।
बैठकमा पार्टीका जिल्ला तथा प्रदेश अधिवेशनका विषयमा समेत छलफल हुने जनाइएको छ। नयाँ कार्यसमितिले जिम्मेवारी सम्हालेसँगै अब पार्टीको संगठनात्मक गतिविधि, अधिवेशनको तयारी र आगामी राजनीतिक कार्यदिशासम्बन्धी निर्णयमा ध्यान केन्द्रित गर्नेछ।


प्रतिक्रिया