अमेरिकाले नेपाललाई १५ करोड डलरभन्दा बढीका हेलिकोप्टर, ड्रोन र जेटबोट दिने

अमेरिकाले नेपाललाई १५ करोड डलरभन्दा बढीका हेलिकोप्टर, ड्रोन र जेटबोट दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकाले नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकी हेलिकोप्टर, ड्रोन र नदीमा सञ्चालन हुने जेटबोट दिने भएको छ।

यी उपकरणको आपूर्ति आगामी वर्षदेखि सुरू हुने काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार जानकारी दिएको छ।

अमेरिकाले उपलब्ध गराउने हेलिकोप्टर, ड्रोन र जेटबोटले नेपालमा खोज तथा उद्धार, बिरामी तथा घाइतेको आकस्मिक उद्धार र आपत्कालीन प्रतिकार्य क्षमता विस्तार गर्न सहयोग पुग्ने दूतावासले जनाएको छ।

दूतावासका अनुसार, अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी नेपाल-अमेरिका साझेदारी र विपद् तयारी तथा प्रतिकार्यमा जारी अमेरिकी सहयोगबारे छलफल गरेकी छन्।

कार्यवाहक राजदूत बोल्डिनले गत भदौ १० गते आएको विनाशकारी बाढीबाट नेपाललाई पुनःस्थापित हुन अमेरिकाले गरिरहेको सहयोगबारे पनि चर्चा गरेकी थिइन्।

उनले विपद्मा ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै बेपत्ता नेपाली सैनिकका परिवारप्रति सहानुभूति प्रकट गरेकी छन्।

अमेरिकी प्रविधि, उपकरण र प्राविधिक विशेषज्ञतामार्फत नेपाललाई विपद्का बेला नागरिकको ज्यान जोगाउन र प्रभावित समुदायलाई सहयोग गर्न सक्षम बनाउने उद्देश्य रहेको दूतासावले जनाएको छ।

यसअघि अमेरिकाले गत वर्ष ३ करोड ८० लाख अमेरिकी डलर मूल्यका एम-२८ स्काइट्रक विमान नेपाललाई हस्तान्तरण गरेको थियो। ती विमान विपद्पछिको राहत तथा उद्धार अभियानमा प्रयोग हुँदै आएका छन्।

अमेरिकी सहयोगको नयाँ प्याकेजले नेपालको विपद् व्यवस्थापन, विशेषगरी बाढी तथा अन्य प्राकृतिक प्रकोपका बेला तत्काल खोज तथा उद्धार गर्न आवश्यक साधन र क्षमतामा थप सहयोग पुग्ने अपेक्षा दूतासावले गरेको छ।