नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरू भइसकेको छ। अहिलेबाटै उपाधिका लागि को बलियो को कमजोर भन्ने अवस्था छैन। समूह चरणका खेल भइरहेकाले त्यो आकलन अहिलेका लागि हतार हुन्छ। तर चिसो मौसमको सुरूवातसँगैअघि बढेको प्रतियोगिताले खेलप्रेमीहरूलाई तताएको छ। मैदानको प्रतिस्पर्धा, फ्रेन्चाइजीहरूको तयारी, नेपाली क्रिकेटरको क्षमता, विदेशी खेलाडीको प्रभाव र नेपाली क्रिकेटको भविष्यबारे चर्चा भइरहेको छ। यसपटक फ्रेन्चाइज टोलीहरूले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित हस्तीलाई भित्र्याएका छन्। यसले झन् प्रतियोगिताप्रति आकर्षण बढाएको छ। यस सिजनमा साविक विजेता लुम्बिनी लायन्सले उपाधि रक्षा अभियान सुरु गरिसकेको छ । अन्य टोली पनि उपाधि दौडका लागि मिहिनेत गरिरहेका छन्।
एनपीएलले खेलसहित देशको आर्थिक क्षेत्रलाई पनि त्राण दिने विश्वासबीच व्यावसायिक स्वरूप, नेपाली खेलाडीका लागि सम्भावित अवसर, राष्ट्रिय टोलीमा प्रवेशको सम्भावना र खेल अर्थतन्त्र र पर्यटनमा पार्न सक्ने प्रभावबारे क्रिकेट विश्लेषक एवम् वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीसँग गरिएको कुराकानीको सम्पादित अंश :
एनपीएलको तेस्रो संस्करणका सुरुवाती खेल हेर्दा फ्रेन्चाइजीहरूको प्रतिस्पर्धात्मक स्तर कस्तो पाउनुभएको छ ?
यसपटकको एनपीएल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा सुरुबाटै थियो। टोलीहरूले खेलाडी छनोट गर्दा समग्र अंगहरूको बलियो संयोजन प्रयास गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगितालाई मान्यता दिएसँगै डेभिड वार्नर, आन्द्रे रसेल र मोइन अलीजस्ता चर्चित खेलाडी भित्रिएका छन्। उनीहरूको आगमनले प्रतियोगिताको आकर्षण बढाएको छ।
सुरुवाती केही खेलमा ठूला स्कोर बन्न सकेन। जसका कारण अपेक्षाअनुसार धेरै रन नआएको चर्चा पनि छ। तर त्यसैका आधारमा प्रतियोगिताको स्तर कमजोर छ भन्न मिल्दैन। टोलीहरूको खेल शैली, खेलाडीको मनोवृत्ति र प्रतिस्पर्धा गर्ने क्षमताका आधारमा हेर्दा यसपटकको एनपीएल राम्रो देखिएको छ।
अघिल्ला संस्करणमा तुलनात्मक रूपमा कमजोर देखिएका टोलीले पनि यसपटक खेलाडी छनोट र तयारीमा ध्यान दिएर सुधार गरेका छन्। त्यसैले कुनै टोलीलाई सुरुमै कमजोर ठान्ने अवस्था छैन।
साविक विजेता लुम्बिनीले पहिलो खेल जित्दै उपाधि रक्षा अभियान थालेको छ। उसको प्रदर्शन र अन्य टोलीको तयारीलाई कसरी हेर्नुभएको छ?
लुम्बिनी लायन्स यसपटक उपाधि रक्षा गर्ने योजनासहित आएको देखिन्छ। अघिल्लो सिजनको तुलनामा अहिलेको टोली बलियो छ। उसले सुदूरपश्चिम रोयल्सजस्तो बलियो टोलीलाई एकपक्षीय रूपमा हराउनु पनि त्यसको संकेत हो। सुरुआती खेलबाटै लुम्बिनीले उपाधि रक्षा गर्ने मनस्थितिमा रहेको देखाएको छ।
विराटनगर किङ्स पनि बलियो देखिएको छ। उसले भारतमा गएर तयारी गरेको छ र आन्द्रे रसेलजस्ता खेलाडीलाई टोलीमा समावेश गरेको छ। चितवनले पनि उपलब्ध खेलाडीको संयोजनबाट राम्रो प्रतिस्पर्धा गरिरहेको छ। पोखराले शाकिब अल हसनजस्ता खेलाडीलाई भित्र्याएको छ। अघिल्ला दुई सिजनमा प्लेअफसम्म पुग्न नसकेको पोखराले यसपटक त्यो कमजोरी सुधार्ने अपेक्षा गर्न सकिन्छ।
सुदूरपश्चिम रोयल्स पनि राम्रो टोली हो। काठमाडौंको प्रदर्शन भने सुरुआती खेलमा त्यति प्रभावकारी देखिएको छैन। तर एउटा वा दुईवटा खेलकै आधारमा टोलीको वास्तविक क्षमता निर्धारण गर्न सकिँदैन।
अहिले सबै टोली बलिया देखिएका छन्। लुम्बिनी र सुदूरपश्चिमजस्ता टोली उपाधि प्रतिस्पर्धामा रहन सक्छन्, तर सुरुवाती चरणमै कसलाई उपाधिको दाबेदार भनेर ठोकुवा गर्नु हतार हुन्छ। सबै टोलीले केही खेल खेलेपछि मात्रै उनीहरूको वास्तविक शक्ति स्पष्ट हुँदै जानेछ।

सुरुवाती खेलमा ब्याटिङ, बलिङ र फिल्डिङमध्ये कुन पक्ष निर्णायक देखियो ? जित्ने र हार्ने टोलीबीचको मुख्य अन्तर के हो ?
टी–२० क्रिकेटमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्ष बलियो हुनुपर्छ। जम्मा २० ओभरको खेलमा एक-दुई ओभरले पनि नतिजामा फेरबदल ल्याउन सक्छ। कुनै टोलीले एकै ओभरमा धेरै रन खर्चियो वा महत्त्वपूर्ण विकेट गुमायो भने त्यसको असर पूरै खेलमा पर्न सक्छ।
विराटनगर र चितवनबीचको खेल निकै रोमाञ्चक थियो। त्यस्तै, सुदूरपश्चिम रोयल्सले आफ्नो दोस्रो खेलमा क्षमताअनुसारको कौशल देखाउँदै जित हासिल गरेको छ। यस्ता खेलले प्रतियोगिता प्रतिस्पर्धात्मक रहेको देखाउँछन्।
टी–२० मा कुनै टोलीलाई कमजोर ठानेर खेल्न मिल्दैन। खेलको परिस्थितिअनुसार एक–दुई ओभरमै नतिजा बदलिन सक्छ। त्यसैले टोलीले आफ्नो बलियो पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नुपर्छ। खेलाडीले पनि आफ्नो क्षमता देखाउन सक्नुपर्छ। नाम चलेको खेलाडी मैदानमा उत्रिएर भूमिका निर्वाह गर्न नसके टोलीलाई अपेक्षित नतिजा हासिल गर्न कठिन हुन्छ। कुन टोलीको ब्याटिङ, बलिङ वा फिल्डिङ कति प्रभावकारी छ भन्ने कुरा प्रतियोगिता अघि बढ्दै जाँदा अझै स्पष्ट हुनेछ।
विदेशी खेलाडीको उपस्थितिले नेपाली खेलाडीको प्रदर्शन र सिकाइमा कस्तो प्रभाव पार्छ ? यसले उनीहरूमा दबाब पनि सिर्जना गर्छ ?
विदेशी खेलाडीको उपस्थितिले विशेषगरी नेपाली युवा खेलाडीलाई फाइदा पुग्छ। राष्ट्रिय टोलीमा स्थापित खेलाडीका लागि अन्तर्राष्ट्रिय खेलाडीहरूसँग खेल्नु नयाँ अनुभव नहुन सक्छ। तर एनपीएलमा पहिलोपटक अवसर पाएका युवाका लागि यो महत्त्वपूर्ण मञ्च हो।
युवा खेलाडीले विदेशी खेलाडीसँग एउटै टोलीमा रहेर वा उनीहरूविरुद्ध खेलेर धेरै कुरा सिक्न सक्छन्। उनीहरूको तयारी, खेलप्रतिको दृष्टिकोण र व्यावसायिक व्यवहार बुझ्ने अवसर पाउँछन्।
नेपाली क्रिकेटमा पनि सन्दीप लामिछाने र करण केसीजस्ता खेलाडी अन्तर्राष्ट्रिय स्तरमा परिचित छन्। त्यसैले विदेशी खेलाडी मात्र ठूला खेलाडी हुन् भन्ने बुझाइ सही होइन। नेपाली खेलाडीले पनि आफ्नो क्षमताका आधारमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्छन्।
एनपीएलले युवा खेलाडीलाई आफ्नो प्रतिभा देखाउने र राष्ट्रिय टोलीको ढोका ढकढक्याउने अवसर दिएको छ। उनीहरूले यो अवसर सदुपयोग गर्न सके भविष्यमा राष्ट्रिय टोलीमा स्थान बनाउन सक्छन्।

एनपीएलले नेपाली क्रिकेटको स्तर उकास्न र राष्ट्रिय टोलीका लागि प्रतिभावान् खेलाडी उत्पादन गर्न कत्तिको योगदान दिन सक्छ ? यसमा के सुधार आवश्यक छ ?
एनपीएललाई नेपाली क्रिकेट विकास गर्ने मुख्य परियोजनाका रूपमा बुझ्नु हुँदैन। यो व्यावसायिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो। यहाँ खेलाडीले आफ्नो क्षमता र प्रतिभा प्रदर्शन गर्छन्। युवा खेलाडीको आधारभूत विकास गर्ने जिम्मेवारी भने फरक प्रकृतिका प्रतियोगिता र संरचनाको हो।
खेलाडीको दीर्घकालीन विकासका लागि उमेर समूहका प्रतियोगिता, ग्रासरुट क्रिकेट र लामो स्वरूपका खेल आवश्यक छन्। तीन–चार दिनसम्म खेलिने प्रतियोगिता तथा निरन्तर अभ्यासबाट खेलाडीको प्राविधिक र मानसिक क्षमता विकास हुन्छ। एनपीएलको मुख्य उद्देश्य भनेको स्थापित र उत्कृष्ट खेलाडीलाई प्रतिस्पर्धा गर्ने व्यावसायिक मञ्च उपलब्ध गराउनु हो।
तर एनपीएलले नेपाली क्रिकेटमा योगदान नै गर्दैन भन्न खोजिएको होइन। यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्नेका लागि राष्ट्रिय टोलीमा प्रवेश गर्ने अवसर खुल्न सक्छ। युनिस विक्रम ठाकुर, राहुल, किशोर महतो र अनिल खरेलजस्ता खेलाडीले राम्रो प्रदर्शन गरेमा राष्ट्रिय टोलीको सम्भावित सूचीमा पर्ने आधार बनाउन सक्छन्। नन्दन यादवले पनि एनपीएलमा खेलेपछि राष्ट्रिय टोलीमा अवसर पाएको उदाहरण छ।
यसका अतिरिक्त एनपीएलबाट प्राप्त आम्दानी क्रिकेट पूर्वाधार विकास, जिल्ला क्रिकेट संघलाई सहयोग, महिला क्रिकेट र युवा प्रतियोगिता सञ्चालनमा लगाउन सकिन्छ। यस्तो आम्दानी प्रभावकारी रूपमा क्रिकेटको समग्र विकासमा प्रयोग भयो भने एनपीएलको योगदान अझ महत्त्वपूर्ण हुन्छ।
एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कस्तो भूमिका खेल्न सक्छ ?
एनपीएल नेपाली क्रिकेटको मात्र नभई नेपाली खेलकुदकै एउटा महत्त्वपूर्ण ब्रान्ड बन्न सक्छ। व्यावसायिक प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहभागी हुँदा उनीहरूका समर्थक र विदेशी सञ्चारमाध्यमको ध्यान नेपालतर्फ आकर्षित हुन्छ।
उदाहरणका लागि, डेभिड वार्नर नेपालमा आएर खेल्दा अस्ट्रेलियाका क्रिकेट समर्थकको ध्यान पनि नेपालतर्फ जान सक्छ। विदेशी खेलाडीले नेपालमा खेलेको अनुभव र यहाँका गतिविधिबारे प्रचार गर्दा नेपालको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न सहयोग पुग्छ।
अघिल्लो संस्करणमा विदेशी खेलाडी नेपालका पर्यटकीय गन्तव्यमा पुगेर सामग्री सार्वजनिक गर्दा पनि नेपालबारे प्रचार भएको थियो। यस्ता गतिविधिले क्रिकेटसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन सक्छन्।
खेलकुदमार्फत देशको पहिचान विस्तार गर्न सकिन्छ। एनपीएललाई व्यवस्थित र आकर्षक बनाउन सके यसले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउने महत्त्वपूर्ण माध्यमको काम गर्न सक्छ।

एनपीएलले आर्थिक गतिविधि बढाउन र खेल पर्यटन प्रवर्द्धन गर्न कत्तिको योगदान दिन सक्छ ?
फ्रेन्चाइज क्रिकेटको मुख्य विशेषता यससँग जोडिएका विभिन्न पक्षलाई आर्थिक रूपमा लाभ पुर्याउनु हो। एनपीएलजस्तो प्रतियोगितामा ठूलो रकम परिचालन हुन्छ। त्यसको लाभ खेलाडीदेखि होटल, रेस्टुरेन्ट, यातायात, पर्यटन व्यवसाय र प्रतियोगिता सञ्चालनमा संलग्न जनशक्तिसम्म पुग्न सक्छ।
होटलमा बस्ने पाहुना बढ्छन्, खानपान व्यवसायमा कारोबार बढ्छ र यातायात तथा अन्य सेवाको माग पनि विस्तार हुन्छ। खेलाडी, प्रशिक्षक, अम्पायर र प्रतियोगिता सञ्चालनमा संलग्न कर्मचारीले समेत आर्थिक अवसर प्राप्त गर्छन्। त्यसैले एनपीएलले प्रतियोगितासँग जोडिएका विभिन्न क्षेत्रमा आर्थिक गतिविधि बढाउन सक्छ।
खेल पर्यटनका दृष्टिले पनि यसको सम्भावना छ। अन्तर्राष्ट्रिय खेलाडी नेपालमा आएर खेल्दा उनीहरूका समर्थकको ध्यान नेपालतर्फ जान्छ। खेलाडीले नेपालका पर्यटकीय गन्तव्यको प्रचार गरेमा त्यसले थप पर्यटक आकर्षित गर्न सहयोग पुर्याउन सक्छ।
एनपीएलको पहिलो संस्करणमा विदेशी क्रिकेट व्यक्तित्व नेपालका पर्यटकीय क्षेत्रमा पुगेर सामग्री सार्वजनिक गर्दा भारतलगायत देशमा नेपालको प्रचार भएको थियो। यस्ता उदाहरणले खेलकुद र पर्यटनबीचको सम्बन्ध देखाउँछन्।
एनपीएललाई व्यावसायिक रूपमा व्यवस्थित गर्दै अन्तर्राष्ट्रिय आकर्षण बढाउन सके यसले नेपाली क्रिकेटको विकाससँगै अर्थतन्त्र र पर्यटन क्षेत्रमा पनि सकारात्मक योगदान दिन सक्छ।


प्रतिक्रिया