प्रधानन्यायाधीश शर्माले भने- इनमसँगको घुस प्रकरणमा जोडेकोमा स्तब्ध र आश्चर्यचकित छु

प्रधानन्यायाधीश शर्माले भने- इनमसँगको घुस प्रकरणमा जोडेकोमा स्तब्ध र आश्चर्यचकित छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले घुस लेनदेनसम्बन्धी समाचारमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले विचौलिया भनिएका इनम सापकोटासँग आफूलाई जोडेर प्रकाशित समाचार आधारहीन, झुटा र कपोलकल्पित भएको दाबी गरेका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै शर्माले विभिन्न सञ्चारमाध्यममा ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुस : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण लगायत शीर्षकमा प्रकाशित समाचारप्रति आफू आश्चर्यचकित र स्तब्ध भएको बताएका छन्।

उनले समाचारमा उल्लेख गरिएका व्यक्ति तथा प्रसङ्गसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। ती व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान र सम्पर्कसमेत नरहेको तथा आफूले उनीहरूलाई कहिल्यै नभेटेको उनको भनाइ छ।

‘जुन प्रसङ्ग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्ति एवं प्रसङ्गमा मेरो कुनै संलग्नता छैन,’ शर्माले भनेका छन्। समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाका घटनाको प्रसङ्गमा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको अवस्था रहेको उनले बताएका छन्।

शर्माले आफ्नो नाम जोडेर आधारहीन समाचार प्रसारण गरिएको भन्दै त्यसको भर्त्सना गरेका छन्। यसका साथै, त्यस्ता समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

‘यसरी आधारहीन, झुटा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दुषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु,’ शर्माले भनेका छन्।

घुस लेनदेनसम्बन्धी समाचारमा अर्का न्यायाधीश हरि फुयाँलसमेतको नाम जोडिएपछि शर्माले सार्वजनिक रूपमा खण्डन गरेका हुन्।