काठमाण्डु- बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव र त्यसबाट नेपालमा उत्पन्न हुन सक्ने विषम मौसमी अवस्थाबारे छलफल गर्न विपद् प्रतिकार्य कमाण्ड पोस्टले तयारी थालेको छ।
पोस्टको बिहीबार बसेको बैठकमा चक्रवातको पछिल्लो अवस्था, सम्भावित वर्षा तथा हिमपात, बाढीपहिरोको जोखिम र सडक अवरुद्ध भएमा तत्काल सञ्चालनमा ल्याउन गरिएका तयारीबारे सम्बन्धित कार्यालयका प्रतिनिधिहरूले जानकारी गराएका थिए।
बैठकमा नेपाल मौसम विज्ञान विभागकी प्रतिनिधि तथा प्रवक्ता विभूति पोखरेलले ‘अर्नब’ चक्रवात नेपाल प्रवेश गर्दा कमजोर भइसकेको भए पनि त्यसको प्रभावले वर्षा, हिमपात तथा सामान्य हावाहुरीको सम्भावना रहेको जानकारी दिइन्।
चक्रवातको प्रभावका कारण मौसममा प्रतिकूलता आउन सक्ने र त्यसले विभिन्न क्षेत्रमा जोखिम निम्त्याउन सक्ने भएकाले पूर्वतयारीलाई प्राथमिकता दिइएको बैठकमा बताइएको थियो।
बैठकले जोखिममा रहेका जिल्लाको अवस्थाबारे निरन्तर सूचना संकलन गर्न, सम्भावित जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी गराउन तथा आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
त्यस्तै, विपद् उत्पन्न भएमा तत्काल उद्धार तथा प्रतिकार्यका लागि परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन पनि सम्बन्धित सबै निकायलाई भनिएको छ। सम्भावित बाढीपहिरो र सडक अवरोधलाई ध्यानमा राख्दै सडक सञ्चालनलाई निरन्तरता दिन आवश्यक तयारीमा समेत जोड दिइएको छ।
मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्बन्धित निकायबाट जारी हुने मौसमसम्बन्धी सूचना तथा चेतावनीमा ध्यान दिन आवश्यक देखिएको गृहमन्त्रालयले जनाएको छ।


प्रतिक्रिया