निजी विद्यालयले ५० प्रतिशतसम्म शुल्क बढाएपछि अनेरास्ववियुको विरोध, आन्दोलनको चेतावनी

निजी विद्यालयले ५० प्रतिशतसम्म शुल्क बढाएपछि अनेरास्ववियुको विरोध, आन्दोलनको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित संस्थागत (निजी) विद्यालयहरूले प्रक्रिया विपरीत एकतर्फी रूपमा चर्को शुल्क वृद्धि गरेको भन्दै अनेरास्ववियु जिल्ला कमिटी, चितवनले विरोध जनाएको छ।

संगठनले शुल्क वृद्धि तत्काल नियन्त्रण गर्न माग गर्दै भरतपुर महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ।

अनेरास्ववियुका केन्द्रीय सदस्य प्रशान्त सुवेदीका अनुसार संगठनले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रसेन अधिकारीमार्फत महानगरको ध्यानाकर्षण गराएको हो।

देशमा विद्यमान आर्थिक मन्दी, बेरोजगारी र बढ्दो आर्थिक दबाबका कारण अभिभावकहरू समस्यामा परिरहेका बेला निजी विद्यालयहरूले २५ देखि ५० प्रतिशतसम्म शुल्क वृद्धि गर्नु न्यायसंगत नभएको अनेरास्ववियुको ठहर छ।

संगठनले विद्यालयहरूले सम्बन्धित प्रक्रिया पूरा नगरी एकतर्फी रूपमा गरेको शुल्क वृद्धिले विद्यार्थी र अभिभावकलाई थप आर्थिक भार परेको जनाएको छ।

अनेरास्ववियु चितवनका संयोजक अमित आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत संगठनले शुल्क वृद्धिसम्बन्धी मागलाई बेवास्ता गरिए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ।

‘शिक्षा अधिकार हो, व्यापार होइन’ भन्ने नारासहित अनेरास्ववियुले विद्यार्थी र अभिभावकको हितलाई प्राथमिकतामा राखेर शुल्क वृद्धि नियन्त्रण तथा समस्या समाधानका लागि तत्काल निर्णय लिन महानगरपालिकासँग माग गरेको छ।

संगठनले निजी विद्यालयको शुल्क निर्धारण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन तथा अभिभावकलाई अनावश्यक आर्थिक भार पर्ने अवस्था अन्त्य गर्न महानगरपालिकाले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ।