काठमाण्डु – बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असर नेपालमा पनि परेको छ । चक्रपातका कारण शुक्रबार सात वटै प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
चक्रपातको असरले दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रपातको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ । साथै कोशी र बागमती प्रदेशको पहाडी र तराई भू९भागमा तथा मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम सम्म वर्षा र हिमपातको सम्भावना छ।
मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै राति देशभर अधिकांश बादल लाग्नेछ । देशका अधिकांश स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । देशको थोरै स्थानमा भारी वर्षा र हिमपात सम्भावना छ ।
शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा र हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सतर्कता अपनाउन आग्रह
‘अर्नब’ चक्रवातका कारण नेपालको हिमालदेखि तराईसम्मै प्रभाव देखिने भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ भने सुरक्षा अंगहरुलाई हाई अलर्टमा राखेको छ । विशेष गरी उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुने भन्दै थप सजग हुन भनिएको छ ।
विपद् प्रतिकार्य कमाण्ड पोष्टको विहीबार बसेको बैठकले जोखिम रहेका जिल्लामा जोखिमबारे निरन्तर सूचना लिइराख्न, सर्वसाधारणलाई सु–सूचित गर्न, पूर्वतयारी गर्न र आवश्यक परे प्रतिकार्यका लागि परिचालन हुन तम्तयार अवस्थामा रहन सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै हावाहुरी, चट्याङ, हिउँआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्न भनेको छ । यदि ट्रेकिङमा गइसकेको भए सुरक्षित ठाउँमा बस्न र किसानहरुलाई यही कात्तिक १४ गतेसम्म धान नकाट्न पनि सुझाव दिइएको छ ।


प्रतिक्रिया