बिचौलियासँग न्यायाधीश जोडिएको गम्भीर विवादपछि सर्वोच्चमा फूल कोर्ट, प्रधानन्यायाधीशमाथि पनि प्रश्न

बिचौलियासँग न्यायाधीश जोडिएको गम्भीर विवादपछि सर्वोच्चमा फूल कोर्ट, प्रधानन्यायाधीशमाथि पनि प्रश्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- न्यायालयका उच्च पदाधिकारी र बिचौलियाबीचको कथित सम्बन्ध तथा घुस लेनदेनसम्बन्धी विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतमा शुक्रबार फूल कोर्ट (पूर्ण बैठक) बस्ने भएको छ।

प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायालयसँग जोडिएको पछिल्लो विवादबारे छलफल गर्न सबै न्यायाधीश सम्मिलित बैठक शुक्रबार दिउँसो बस्ने गरी बोलाएका हुन्।

विवादबीच यसअघि बुधबार र बिहीबार सर्वोच्चमा संवैधानिक इजलासको बैठक पनि बस्न सकेन। जसका कारण पेशीमा चढाउन तोकिएका सबै मुद्दाको सुनुवाइसमेत स्थगित गर्नुपरेको थियो ।

सर्वोच्च अदालतका एक अधिकृतले शुक्रबार फूल कोर्ट बस्ने सूचना न्यायाधीशहरूलाई पठाएको बताएका छन्। बैठकको एजेन्डामा ‘समसामयिक विषयमा छलफल’ उल्लेख गरिएको छ।

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलबीचको ह्वाट्सएप संवाद सार्वजनिक भएपछि न्यायालयभित्र तरंग उत्पन्न भएको छ।

त्यसमाथि सार्वजनिक भएको प्रहरीको डिजिटल फरेन्सिक परीक्षणसम्बन्धी भनिएको कागजातमा प्रधानन्यायाधीश शर्माको नाम र अमेरिकामा रकम जम्मा गर्नेसम्बन्धी विवरणसमेत उल्लेख भएपछि विवाद थप गम्भीर बनेको हो।

प्रधानन्यायाधीशकै नाममा विदेशमा घुस रकम जम्मा गरिएको भनिएको विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतको नेतृत्वमाथि नै प्रश्न उठेको छ।

प्रधानन्यायाधीशको खण्डन, शुक्रबार फूल कोर्ट

विवाद सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्माले बिहीबार नै विज्ञप्ति जारी गर्दै बिचौलिया इनम सापकोटासँग आफ्नो भेटघाट नभएको र घुस रकम नलिएको स्पष्ट पारेका थिए।

यसअघि न्यायाधीश हरि फुयाँलसहित अन्य न्यायिक पदाधिकारीले पनि सापकोटासँगको सम्पर्क र उठबससम्बन्धी आरोप अस्वीकार गरेका थिए।

तर, सार्वजनिक भएको ह्वाट्सएप संवाद र डिजिटल फरेन्सिक विवरणले न्यायालयको नेतृत्वमाथि प्रश्न उठाएपछि प्रधानन्यायाधीशले नै फूल कोर्ट बोलाएका हुन्।

फूल कोर्ट सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी हुने पूर्ण बैठक हो। यसमा अदालतको प्रशासनिक व्यवस्थापन, संस्थागत विषय र समसामयिक न्यायिक सवालमा छलफल हुने गर्छ।

शुक्रबारको बैठकमा पछिल्लो विवादबारे न्यायाधीशहरूबीच छलफल हुने अपेक्षा गरिएको छ।