काठमाण्डु– नेपाल-भारत खुला सीमालाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउन दशगजा क्षेत्रमा सीसीटीभी जडान, प्रमुख नाकामा लगेज स्क्यानर तथा वाक थ्रु मेटल डिटेक्टर राख्ने र ड्रोनबाट निगरानी बढाउने सहमति भएको छ।
सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच काठमाडौंमा सम्पन्न १०औँ समन्वय बैठकले सीमा क्षेत्रमा हुने तस्करी, मानव बेचबिखन, लागूपदार्थ कारोबार, नक्कली नोटको ओसारपसार तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रणका लागि प्रविधि र सूचना आदानप्रदानमा आधारित सहकार्य विस्तार गर्ने निर्णय गरेको हो।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र एसएसबीका महानिर्देशक संजय सिंघलको नेतृत्वमा तीन दिनसम्म भएको बैठकमा खुला सीमा व्यवस्थापनलाई आधुनिक प्रविधिमा आधारित बनाउने विषयलाई प्राथमिकता दिइएको थियो।
बैठकमा दशगजा क्षेत्रमा सीसीटीभी जडान गर्ने, प्रमुख सीमा नाकामा लगेज स्क्यानर तथा वाक थ्रु मेटल डिटेक्टर राख्ने र दुवै देशले आआफ्नो भूभागमा ड्रोनको प्रयोग बढाउने विषयमा छलफल भएको छ। यी उपायले खुला सीमाको दुरुपयोग गरी हुने अवैध गतिविधि पहिचान र नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तस्करी र सीमापार अपराध नियन्त्रणमा सूचना
बैठकले नवौँ समन्वय बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै रणनीतिक, अपरेसनल र कार्यक्षेत्र तहमा सहकार्य विस्तार गर्ने निर्णय गरेको छ।
सीमापार आपराधिक सञ्जाल, अवैध तस्करी, मानव बेचबिखन, लागूपदार्थ कारोबार र नक्कली नोटको ओसारपसार नियन्त्रणका लागि दुवै सुरक्षा निकायले तत्काल सूचना आदानप्रदान गर्ने सहमति गरेका छन्।
तस्करी, मानव बेचबिखन र लागूपदार्थ कारोबार नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबीच तत्काल सूचना आदानप्रदान र संयुक्त गस्ती गर्ने सहमति
त्यसैगरी खुला सीमाको दुरुपयोग गरी तेस्रो मुलुकका नागरिकले अनधिकृत रूपमा प्रवेश गर्न सक्ने सम्भावना रोक्न सीमा नाकामा जाँच तथा कागजात प्रमाणीकरणलाई प्रभावकारी बनाइने भएको छ। शंकास्पद व्यक्तिबारे तत्काल सूचना आदानप्रदान गर्ने र दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

अतिक्रमण हटाएर सीमा स्तम्भ संरक्षण
नेपाल–भारत सीमाको संवेदनशील विषयका रूपमा रहेको दशगजा क्षेत्रको व्यवस्थापनलाई पनि बैठकले प्राथमिकता दिएको छ।
दशगजा क्षेत्रमा हुने अनधिकृत खेतीपाती, अतिक्रमण र अवैध संरचना हटाउन निरन्तर समन्वय गर्ने सहमति भएको छ। सीमा स्तम्भको मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि बाउन्ड्री वर्किङ ग्रुप (बीएडब्लुजी) र सर्भे अफिसियल्स कमिटी (एसओसी) का निर्णयअनुसार फिल्ड तहमा समन्वय बढाइने भएको छ।
सामाजिक सञ्जालको दुरुपयोग र भ्रामक सूचनाले दुई देशबीचको सुरक्षा तथा सामाजिक सद्भावमा पार्न सक्ने असरबारे पनि छलफल भएको थियो। यस विषयमा संस्थागत सहकार्य सुदृढ गर्ने सहमति जुटेको छ।
विपद् उद्धारमा संयुक्त अभ्यास
सीमा सुरक्षासँगै प्राकृतिक विपद् व्यवस्थापनमा पनि दुई देशबीच सहकार्य विस्तार गरिने भएको छ।
बाढी, पहिरो र भूकम्पजस्ता विपद्का समयमा प्रभावकारी उद्धारका लागि चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयमा ‘जोइन्ट स्विफ्ट वाटर रेस्क्यु एक्सरसाइज’ सञ्चालन गर्ने विषयमा छलफल भएको छ।
त्यस्तै आधुनिक सुरक्षा प्रविधि र विशेष तालिममा सहयोग विस्तार गर्ने तथा दुवै सुरक्षा निकायबीच नियमित अध्ययन भ्रमण सञ्चालन गर्ने निर्णय भएको छ।
यात्रुलाई सहायता कक्ष
बैठकले वैधानिक रूपमा सीमा पार गर्ने यात्रुलाई सहज बनाउन सीमा नाकाहरूमा सहायता कक्ष (हेल्प डेस्क) विस्तार गर्ने निर्णय गरेको छ।
दुई देशका सुरक्षा निकायबीच आपसी विश्वास र सौहार्दता बढाउन मैत्रीपूर्ण खेलकुद, अन्तर्राष्ट्रिय दिवस तथा प्रमुख चाडपर्वका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सहमति पनि भएको छ।
बैठकमा नेपालबाट गृह तथा परराष्ट्र मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी सहभागी थिए। भारतका तर्फबाट एसएसबीका उच्च अधिकारी, काठमाडौंस्थित भारतीय दूतावास तथा भारतका गृह र विदेश मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए।
सन् २०१२ देखि नेपाल र भारतमा पालैपालो आयोजना हुँदै आएको द्विपक्षीय समन्वय बैठकको ११औँ संस्करण आगामी वर्ष भारतमा आयोजना गरिने भएको छ।


प्रतिक्रिया