काठमाण्डु सल्यानको दुई स्थानमा शुक्रबार राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
शुक्रबार साँझ श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप भित्री कच्ची सडकबाट करिब १ सय ५० मिटर तल खोलामा खसेको हो।
दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा लगिएको थियो। उपचारका क्रममा सिद्ध कुमाख–२ का ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिद्ध कुमाख–२ का २४ वर्षीय देवबहादुर विक, ५८ वर्षीया सुशीला चलाउने, १३ वर्षीया राधिका चलाउने र २२ वर्षीय दीपक रोका घाइते भएका छन्। त्यस्तै, सिद्ध कुमाख–३ का १५ वर्षीय कमल बुढाथोकी र ७ वर्षीया रुपा बुढाथोकी तथा सिद्ध कुमाख–२ का १० वर्षीय युवराज परियार पनि घाइते भएका छन्।
घाइतेमध्ये देवबहादुर विक र कमल बुढाथोकीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। केही घाइतेलाई थप उपचारका लागि दाङ र नेपालगन्ज रिफर गरिएको छ।
जिप चालक सिद्ध कुमाख–२ निवासी ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सल्यान पठाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ गरामा बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ।
खलंगा–बालुवा संग्राही सडकखण्डमा चौरबाट बालुवा संग्राहीतर्फ आउँदै गरेको रा १ च १७२३ नम्बरको डबल क्याब बोलेरो सडकबाट करिब एक सय मिटर तल खसेको हो।
दुर्घटनामा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ मालारानीका २५ वर्षीय पप्पु डाँगी र बोलेरो चालक २३ वर्षीय अम्मरबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ।
दुर्घटनामा घाइते भएका २२ वर्षीय पुनम बुढा, १५ वर्षीय तिलक वली, ३२ वर्षीया निर्मला ओली, १८ वर्षीय उत्तम डाँगी, २६ वर्षीय छितिज डाँगी, १२ वर्षीया पवित्रा डाँगी, १५ वर्षीय झलक डाँगी, २१ वर्षीया पिमकली डाँगी, २५ वर्षीया हरिमाया ओली र १८ वर्षीया समीक्षा ओली रहेका छन्।
घाइतेमध्ये निर्मला ओली र उत्तम डाँगीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको छ। पिमकली डाँगीलाई पनि सुर्खेत र हरिमाया ओली र समीक्षा ओलीलाई नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेको नगर अस्पताल देवस्थल र सल्लीबजारमा उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरले बताए।
प्रहरीका अनुसार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बनगाड सल्यानबाट नेपाल प्रहरी र ट्राफिक प्रहरीसहित प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पठाएको थियो।


प्रतिक्रिया