पत्रकार पक्राउ प्रकरण : प्रहरी प्रवक्ताले प्रधानमन्त्री कार्यालयलाई दोष दिँदै पठाएको म्यासेज डिलिट गरे

पत्रकार पक्राउ प्रकरण : प्रहरी प्रवक्ताले प्रधानमन्त्री कार्यालयलाई दोष दिँदै पठाएको म्यासेज डिलिट गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले सुरक्षा बिटमा कलम चलाउने पत्रकारहरूका लागि सूचना दिन बनाइएको ह्वाट्सएप समूहमा शुक्रबार मध्यराति पत्रकार पक्राउ र सादा पोसाकका प्रहरी सञ्चारगृह प्रवेश गरेको विषयमा स्पष्टीकरणसहितको सन्देश पठाए ।

काफ्लेले प्रधानमन्त्री कार्यालयको निर्देशनमा पत्रकार पक्राउ गरिएको उल्लेख नगरी प्रधानमन्त्री कार्यालयको चासोपछि प्रहरी परिचालन भएको व्यहोरा सन्देशमा खुलाएका थिए ।

तर, उक्त सन्देश सञ्चारमाध्यममा समाचारका रूपमा सार्वजनिक भएको केही घण्टामै उनले समूहबाट हटाएका छन् ।

राति १ बजेर ४० मिनेटमा पठाइएको सन्देशमा काफ्लेले प्रहरीविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गलत समाचार तथा सन्देश प्रवाह भइरहेको दाबी गरेका थिए । यस्ता सामग्रीले प्रहरीको व्यावसायिकता र सर्वसाधारणको विश्वासमा असर पार्न सक्ने भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखाएको उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्यालयको त्यही चासोलाई सम्बोधन गर्न साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएको उनले बताएका थिए ।

प्रहरीले सञ्चारकर्मीलाई बोलाउनुको उद्देश्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नभएको उनको जिकिर थियो ।

‘त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो,’ उनले सन्देशमा लेखेका थिए ।

सन्देशमा प्रहरी प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति प्रतिबद्ध रहेको पनि उल्लेख थियो। सुरक्षित समाज निर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै उनले सञ्चारकर्मीलाई समेत सहयोगका लागि आग्रह गरेका थिए ।

तर, सन्देशमा प्रधानमन्त्री कार्यालयको ‘निर्देशन’ भन्दा ‘चासो’ शब्द प्रयोग गरिएको थियो । प्रधानमन्त्री कार्यालय र रास्वपाले घटनाबारे अनभिज्ञता प्रकट गरिरहेका बेला प्रहरी प्रवक्ताको सन्देशमा भने कार्यालयको चासोको प्रसंग आएको थियो ।

के थियो शुक्रबारको घटना ?

शुक्रबार नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल पक्राउ परेका थिए । डीएनए खबरका सम्पादक धिरज बस्नेत पनि प्रहरी नियन्त्रणमा परेका थिए ।

पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका प्रहरी प्रवेश गरेका थिए । पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न पुगेको प्रहरी टोली समाचार कक्षसम्म पुगेको थियो । करिब साढे दुई घण्टा कार्यालयमा बसेको टोली पत्रकार मैनालीलाई लैजान खोजेको थियो ।

सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकार पक्राउको प्रयासको विरोध भएपछि प्रहरी टोली फर्किएको थियो । घटनाले पत्रकारिता क्षेत्रको ध्यान तानेपछि प्रधानमन्त्री कार्यालय र सत्तारूढ रास्वपाले त्यसबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए ।

यही घटनाबारे प्रहरी प्रवक्ताले मध्यरातमा दिएको स्पष्टीकरण बिहान हटाइएको हो । सन्देश हटाउनुको कारणबारे प्रहरीले केही बताएको छैन ।