काठमाण्डु – लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ । जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
साथै, उनले नदीकिनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा बस्न तथा आयोजनाबाट जारी सूचना र मोबाइलमा प्राप्त हुने एसएमएसमा उल्लेखित निर्देशन पालना गर्न अनुरोध गरेका छन् ।
जलविद्युत् केन्द्रले पनि चेतावनी जारी गरेको छ । जलाशयको सतह सन्तुलित राख्न बाँधका ढोका खोल्नुपर्ने अवस्थामा चेतावनीको साइरन बजाइने केन्द्रका प्रमुख राउतले जानकारी दिए । उनले देउराली–सिस्नेरी सडकखण्ड प्रयोगमा पनि सावधानी अपनाउन आग्रह गरेका छन् ।
‘जलाधार क्षेत्रमा बिहान ९ बजेदेखि भारी वर्षा भएकाले जलाशयमा पानी संकलन हुने क्रम बढेको छ,’ कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख प्रल्हाद राउतले भने, ‘पानी पर्ने क्रम घट्दै गएको र दिउँसो २ बजेपछि पानी पर्ने क्रम रोकिने अनुमान गरिएकाले त्यति आत्तिहाल्नुपर्ने छैन।’
कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ । कुलेखानी भरिन अझै १.२० मिटर अर्थात् १२० सेन्टिमिटर बाँकी छ ।
नेपाल विद्युत् प्राधिकरणले जलाशयको सतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन अनुरोधसहितको सूचना जारी गरेको छ।
जलाशय भरिनुभन्दा अगाडि बाँध खोल्नुपर्ने अवस्था आउन सक्ने जोखिमलाई मध्यजनर गर्दै आयोजनाले साइरनको व्यवस्थासमेत गरेको छ। तल्लो तटीय भाग सिस्नेरी लगायतका क्षेत्रमा साइरन जडान गरिएको छ ।
जलाशयको बाँधमा पानीको सतह १ हजार ५ सय २९ मिटर पुगेपछि पहिलो साइरन बज्ने व्यवस्था छ । कुलेखानी जलाशयका सातवटा जलाधार क्षेत्रको क्षेत्रफल १ सय ६६ वर्ग किलोमिटर रहेको छ। जलाशयको पानी खपत गर्ने उद्देश्यले कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिट २४ सै घण्टा सञ्चालन गरिएको छ।
तीनवटै युनिट २४ सै घण्टा सञ्चालन गर्दा करिब ४० देखि ५० सेन्टिमिटर पानी खपत हुने गर्छ। कुलेखानी प्रथमबाट ६० मेगावाट विद्युत् उत्पादन हुन्छ भने दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट गरी १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ।
कुलेखानी जलाधार क्षेत्रमा निरन्तर वर्षा भएसँगै सम्भावित जोखिम न्यूनीकरण गर्न पानी संकलन नगरी विद्युत् उत्पादन गरिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया