काठमाण्डु– अर्नब चक्रवातको अवशेषको प्रभाव कमजोर हुँदै गएसँगै नेपालमा मौसम क्रमिक रूपमा सुधार हुन थालेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका अधिकांश क्षेत्रमा वर्षा तथा हिमपातको क्रम घट्दै गएको छ। हाल कोसी, बागमती र मधेस प्रदेशमा सामान्यतया बादल लागेको छ भने अन्य प्रदेशमा आंशिक बदली रहेको छ।
महाशाखाकी मौसमविद् निष्ठा निरौलाका अनुसार अर्नब चक्रवातको अवशेषको प्रभाव अहिले क्रमशः कमजोर बन्दै गएको छ। उनका अनुसार शनिबार दिउँसोसम्म कोसी र बागमती प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मात्र वर्षा भइरहेको थियो।
बंगालको खाडीमा विकसित शक्तिशाली अर्नब चक्रवात भारततर्फ प्रवेश गर्ने क्रममा त्यसको अवशेषको प्रभाव नेपालमा समेत परेको थियो। बिहीबार रातिदेखि देशका विभिन्न स्थानमा लगातार वर्षा तथा हिमपात भएपछि जनजीवन प्रभावित भएको थियो।
यद्यपि, केही स्थानमा अझै वर्षा तथा हिमपात भइरहेको भए पनि चक्रवातको प्रभाव कमजोर हुँदै गएकाले आगामी समयमा मौसम थप सुधार हुने महाशाखाले जनाएको छ।
महाशाखाले शनिबार दिउँसो जारी गरेको सूचनामा पनि देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको उल्लेख गरेको छ।


प्रतिक्रिया