राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट अब खेत-खेतमा सिँचाइ

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट अब खेत-खेतमा सिँचाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन थालेका छन् ।

जलस्रोत तथा सिँचाइ विभागको पछिल्लो भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्‍याएको हो ।

सिक्टा आयोजनाले ५४ करोड ३ लाख रुपैयाँ लागत अनुमानका ४ वटा बोलपत्र आह्वान गरिसकेको छ । पुस मसान्तसम्म २ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य आयोजनाले राखेको छ ।

बबई आयोजनाले पनि पुस मसान्तसम्म ३०० हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य लिएको विभागका सूचना अधिकारी राम प्रसाद पौडेलले बताए ।

रानी जमराको भौतिक प्रगति १५ प्रतिशत

विभागकाअनुसार रानी जमरा कुलरिया सिँचाइ आयोजना, टिकापुर (कैलाली) ले १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ लागत अनुमानका ६ वटा बोलपत्र आह्वान गरेको छ । आयोजनाको भौतिक प्रगति साउनमा ८ प्रतिशत रहेकोमा भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ । वित्तीय प्रगति पनि सोही अवधिमा ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ ।

आयोजनाले पुस मसान्तसम्म २ अर्ब ३० करोड रुपैयाँ बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने, १.५ किलोमिटर तटबन्ध बनाउने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य राखेको छ ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाले पुस मसान्तसम्म ६१ करोड रुपैयाँ बराबरका ४ वटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ ।

सुनकोशी मरिन डाइभर्सन आयोजनामा भने पुस मसान्तसम्म ९७ हेक्टरमा लिफ्ट सिँचाइ र ६.१८ किलोमिटर तटबन्धको लक्ष्य राखिएको छ ।