डोल्पामा ६ भारतीय पर्यटक अलपत्र

डोल्पामा ६ भारतीय पर्यटक अलपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –लगातारको हिमपातका कारण डोल्पाको उच्च हिमाली क्षेत्रमा दुई महिलासहित ६ जना भारतीय पर्यटक अलपत्र परेका छन्।

डोल्पो बुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे–फोक्सुण्डो तालतर्फ आउँदै गरेका उनीहरू शे–फोक्सुण्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुम्ला पास र वागला पास क्षेत्रमा अलपत्र परेका हुन्।

अलपत्र परेका ६ भारतीय पर्यटकको उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिँदैछ । उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ पठाउने तयारी गरिएको छ।

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएपछि उनीहरू फसेको हुन सक्ने अनुमान स्थानीयको छ ।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार सेनाको हेलिकोप्टर पर्यटकको उद्धारका लागि घटनास्थल जाने बताइन् । उद्धारमा लाग्ने खर्च विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने गरी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन्।

हिमपातका कारण अलपत्र परेका भारतीय पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जाजला त्रिवेद कुमार, आदित्य सिंहा, दिप्लिना विश्वास र राजेश डे रहेका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार उपल्लो डोल्पामा अहिले २ सय ४४ जना पर्यटक रहेका छन्। तीमध्ये १ सय ४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक हुन्। प्रशासनले प्रतिकूल मौसममा जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न पर्यटकलाई आग्रह गरेको छ।

दानिगाड क्षेत्रमा बाक्लो हिमपात भएपछि उनीहरूको यात्रा प्रभावित भएको हो। प्रतिकूल मौसमका कारण थप जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले उद्धारको पहल गरेको जनाएको छ।

डोल्पामा केही दिनयता लगातार हिमपात भइरहेको छ। हिमपातले उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनाउनुका साथै पर्यटकीय गतिविधिमा समेत अवरोध पुर्‍याएको छ। पदयात्रा तथा भ्रमणमा रहेका पर्यटकलाई आवतजावतमा कठिनाइ भएपछि उनीहरूको सुरक्षामा चुनौती थपिएको छ।