काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ ।
पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति गठन गर्नुका साथै महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ ।
पार्टीका महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, समावेशी र प्रभावकारी बनाउन विभिन्न जिम्मेवारीसहित सात उपसमिति गठन गरेको छ ।
जसअनुसार क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिको संयोजकमा सुशान्त वैदिक, गुनासो समन्वय उपसमितिको संयोजकमा जनकसिंह धामी र समावेशीता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोशिमा कार्कीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, क्षमता विकास समन्वय उपसमितिको संयोजकमा टासी ल्हाजोम, व्यवस्थापन उपसमितिको संयोजकमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बू चयन भएका छन् ।
बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ ।
पार्टीले उम्मेदवार छनोटसम्बन्धी रूपरेखाका विभिन्न पक्षलाई प्रभावकारी रूपमा कार्यान्वयन र समन्वय गर्न उपसमितिहरू गठन गरिएको जनाएको छ ।


प्रतिक्रिया