काठमाण्डु- रिबन इन्टरटेनमेन्टद्वारा आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को छैटौँ संस्करण सम्पन्न भएको छ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित ग्रान्ड फिनालेमा प्रतियोगी नम्बर १६ की बिनिता गुरुङले मुख्य उपाधि जितेकी छन्।
विजेता गुरुङलाई मिसेस वर्ल्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), अभिनेता राजेश हमाल, अभिनेत्री तथा निर्देशक रेखा थापा र मिसेस नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्तलगायतले क्राउन तथा स्यासे प्रदान गरेका थिए।
उपाधि जितेसँगै गुरुङले आगामी ‘मिसेस वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
प्रतियोगितामा प्रतियोगी नम्बर ११ की शिल्पा न्यौपाने महर्जनले ‘मिसेस नेपाल इन्टरनेसनल’ र प्रतियोगी नम्बर २० की क्रिस्टिना ज्ञवालीले ‘मिसेस नेपाल कस्मो’ को उपाधि जितिन्।
त्यस्तै, प्रतियोगी नम्बर ४ की रिचा शर्माले ‘एमएस नेपाल इन्टरनेसनल’ को उपाधि हात पारिन्।
नेहा गुप्ता फर्स्ट रनरअप, ज्योति लामिछाने सेकेन्ड रनरअप र सगुन खनाल थर्ड रनरअप घोषित भए। उनीहरू क्रमशः प्रतियोगी नम्बर ८, १७ र २ का प्रतिस्पर्धी हुन्। प्रतियोगितामा विभिन्न विधाका सब–टाइटलसमेत प्रदान गरिएको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा, सन् २०२४ की विजेता डा. डेलिना कार्की, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, नेपाल प्रहरीकी पूर्वएआईजी मिरा चौधरी तथा सिप्रदी अटोपार्टस्कका उपाध्यक्ष युवराज बुढाथोकी सहभागी थिए। निर्णायकहरूले प्रतियोगीहरूको प्रतिभा, व्यक्तित्व, आत्मविश्वास र प्रस्तुतिका आधारमा मूल्यांकन गरेका थिए।
रिबन इन्टरटेनमेन्टका सञ्चालक निशुकान्त झाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको नेतृत्व कोरियोग्राफर अश्विनीकान्त झा र निर्देशक शिला बास्तोलाले गरेका थिए।


प्रतिक्रिया