‘भकुण्डे भूत’ले जित्यो काठमाडौं फिल्म फेस्टिभलको सर्ट भिडियो च्यालेञ्ज अवार्ड

‘भकुण्डे भूत’ले जित्यो काठमाडौं फिल्म फेस्टिभलको सर्ट भिडियो च्यालेञ्ज अवार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जीवन सुनुवार निर्देशित सर्ट भिडियो ‘भकुण्डे भूत’ले काठमाडौं फिल्म फेस्टिभल २०८३ अन्तर्गत सर्ट भिडियो च्यालेञ्जको पहिलो अवार्ड जितेको छ।

काठमाडौं महानगरपालिकाले ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा आयोजना गरेको सर्ट भिडियो च्यालेञ्जमा प्राप्त ३५ वटा भिडियोमध्ये निर्णायक मण्डलले सुनुवारको ४ मिनेट ५५ सेकेन्ड लामो भिडियोलाई उत्कृष्ट छनोट गरेको हो। परम्परागत विश्वास तथा रहस्यमा आधारित भिडियोले पहिलो स्थान हासिल गरेको छ।

प्रतियोगितामा अनुभव श्रेष्ठ निर्देशित ‘द सोल अफ गुठी’ दोस्रो र सौगात सापकोटा निर्देशित ‘झीँगु छेँ (मेरो घर)’ तेस्रो भएका छन्।

राष्ट्रिय सभागृहमा आइतबार आयोजित अवार्ड समारोहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने भिडियोका निर्माता तथा निर्देशकलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, अभिनेता विजय बराल र अभिनेत्री सुरक्षा पन्तले विजेतालाई प्रमाणपत्र, पुरस्कार तथा अवार्ड प्रदान गरेका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एवं प्रवक्ता नवीन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित कार्यपालिका सदस्यहरूले पनि सहभागीलाई सम्मान तथा प्रोत्साहन गरेका थिए।सर्ट भिडियो च्यालेञ्जका लागि ३५ वटा भिडियो प्राप्त भएका थिए।

तीमध्ये निर्णायक मण्डलले ११ वटा भिडियो छनोट गरेको थियो। छनोट भएका भिडियोमा शैलेश हमालको ‘ह्याप्पिनेस’, धृतिका तिवारीको ‘बगैँचा जस्तै सहर’, करण ब्लनको ‘दियो’, दिनेश महर्जनको ‘इन्द्रजात्रा : द बिगेस्ट फेस्टिभल अफ काठमाडौं’, सौगात सापकोटाको ‘झीँगु छेँ (माइ होम)’, नर्जुङ बुढाथोकीको ‘बिहाइन्ड द गड’, केशव सार्कीको ‘अन्तिम यात्रा’, जीवन सुनुवारको ‘भकुण्डे भूत’, क्रिमिन तुलाधरको ‘सचिका : अ थ्रेड द्याट टाइज यु होम’, अनुभव श्रेष्ठको ‘द सोल अफ गुठी’ र सजिल बस्नेतको ‘छं ल्वाः मंसां’ थिए।

समारोहमा नेपाल पानोरामाअन्तर्गत छनोट भएका नौवटा लघु चलचित्रलाई पनि जनही एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो। नेपाल पानोरामाका लागि खुला वृत्तचित्र, कथात्मक, एनिमेसन तथा प्रयोगात्मक विधामा ३० मिनेटसम्मका भिडियो आह्वान गरिएको थियो। यसमा ७५ वटा भिडियो प्राप्त भएका थिए।

नेपाल पानोरामाअन्तर्गत सरिता शाहको ‘मनकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बूको ‘डोर्स आर स्टिल क्लोज्ड’, पूरबहादुर गुरुङको ‘अ लेटर इन विन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा : अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्सु : अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मारिछा’ छनोट भएका थिए। ती चलचित्र फेस्टिभलमा प्रदर्शन गरिएका छन्।

समारोहमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले युवा पुस्तालाई संस्कार, संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले सर्ट भिडियो च्यालेञ्ज आयोजना गरिएको बताइन्।

‘युवाहरूलाई काठमाडौंको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक सुगन्ध महसुस गराउने हाम्रो उद्देश्य हो। युवाहरूको सहभागिताले हाम्रो उद्देश्य सफल बनाएको छ,’ उनले भनिन्।

महानगरपालिकाका प्रवक्ता मानन्धरले सिर्जनात्मक र नवप्रवर्तनका कार्यक्रमलाई चलचित्रसँग जोडेर निरन्तरता दिइने बताए। ‘हामीले आयोजना गरेको कार्यक्रममा चलचित्र क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिले हामीलाई पनि प्रोत्साहित गरेको छ,’ उनले भने।

अभिनेता विजय बरालले महानगरपालिकाले अघि बढाएको कार्यक्रम कला क्षेत्रका लागि सुखद सुरुआत भएको बताए। उनले यसमा कला क्षेत्रको सहभागिता बढाउँदै लैजानुपर्ने धारणा राखे। अभिनेत्री सुरक्षा पन्तले पनि कला क्षेत्रको विकासमा युवाहरूको सहभागिता बढाउन महानगरपालिकाले थालेका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन्।

फेस्टिभलका लागि सर्ट भिडियो च्यालेञ्जको निर्णायक मण्डलमा चलचित्रकर्मी तथा निर्माता अनिल योञ्जन, नाट्य कलाकार तथा पत्रकार बैकुण्ठ भण्डारी, चलचित्रकर्मी तथा प्रशिक्षक प्रसुना डंगोल, युनेस्कोका सञ्चार विज्ञ रबिन राई तथा सहरी योजनाकार एवं सम्पदा संरक्षणकर्मी रीजा जोशी थिए।

त्यस्तै, नेपाल पानोरामाका चलचित्र छनोटका लागि चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दिनेश डीसी, निर्देशक तथा लेखक प्रकाश सायमी, निर्माता तथा पटकथा लेखक सम्पदा मल्ल र फिल्म क्रिटिक्स सोसाइटी अफ नेपालका लेखक तथा पत्रकार सामीप्यराज तिमिल्सिना निर्णायक थिए।

काठमाडौं फिल्म फेस्टिभलअन्तर्गत नेपाली पुराना चलचित्रको सम्मानमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका नेपाली रङ्गीन कथानक चलचित्र ‘कुमारी’ र ‘के घर के डेरा’ को विशेष प्रदर्शनसमेत गरिएको छ।

इन्टरनेसनल पानोरामाअन्तर्गत जय नेपालमा विभिन्न देशका चलचित्र प्रदर्शन गरिएका छन्। यसअन्तर्गत लान हङचाउ निर्देशित चिनियाँ चलचित्र ‘डियर यु’, विकास रञ्जन मिश्र निर्देशित भारतीय चलचित्र ‘बयान’, जुलियन न्युहवास निर्देशित अस्ट्रेलियन चलचित्र ‘मिस एन प्लेस’, जोल्जार्गल पुरेभ्दास निर्देशित ‘स्टेयर्स’, टम पाइजेट निर्देशित ‘इन्च्यान्टेड म्याटर, द आर्ट अफ रोबर्ट पावेल’ र मेरिट एन्लान निर्देशित फ्रान्सेली चलचित्र ‘ला ग्राभिडा’ प्रदर्शन गरिएका छन्।

त्यस्तै, जाङहाङ जुन निर्देशित कोरियन चलचित्र ‘द किङ्स वार्डेन’, रीमा दास निर्देशित सिंगापुर–भारतको चलचित्र ‘नट अ हिरो’ र सर्वानो सदत निर्देशित ‘नो गुड मेन’ पनि प्रदर्शन गरिएका छन्।