अन्तर्वार्ता

‘पत्रकार पक्राउको घटनाबाट सरकार पार्टीको नियन्त्रणमा नरहेको स्वीकार गर्नुपर्छ’

‘पत्रकार पक्राउको घटनाबाट सरकार पार्टीको नियन्त्रणमा नरहेको स्वीकार गर्नुपर्छ’

सरकारका धेरै कुराले हामी आफैँ सप्राइज छौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवम् सांसद जगदीश खरेल सभापति रवि लामिछानेका विश्वासपात्र मानिन्छन्। पछिल्लो समय सरकारबाट पत्रकार र सञ्चारमाध्यममाथि भएको धरपकडको घटनामा रास्वपा नेतृत्वसहित आफूहरू नै आश्चर्यचकित भएको उनी बताउँछन्। सञ्चारमाध्यमभित्रै पसेर पत्रकार पक्राउको विषयमा पार्टी र सरकारबीच गहिरो खाडल देखिएको खरेल स्वीकार गर्छन्। तर अन्य विषयमा समन्वय भइरहेको उनी व्याख्या गर्छन् ।

सरकार र पार्टीबीच कतिपय सानातिना विषयमा सहकार्य र समन्वय नहुने गरेको स्वीकार्दै उनी भन्छन्, ‘पछिल्लो समय सरकारले सरकारको तर्फबाट काम गरिरहँदा र पार्टीले पार्टीको तर्फबाट काम गरिरहँदा कहिलेकाहीँ नमिलेको जस्तो अनुभूति भएको पक्कै हो। तर समग्रमा त्यस्तो खाडल छैन। सानातिना कुराहरूमा कहिलेकाहीँ पार्टीसँग सल्लाह नगरी काम हुन्छ।’

शुक्रबार तीनजना पत्रकार पक्राउ परेलगत्तै पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच छलफल भएको उनले बताए। त्यसपछि पक्राउ परेका सबै पत्रकारलाई छाड्न निर्देशन दिइएको पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका खरेलको भनाइ छ। प्रधानमन्त्रीलाई समेत पत्रकार पक्राउ परेको विषयमा जानकारी नभएको औपचारिक तथा अनौपचारिक कुरा आएको भन्दै उनले यसको निष्पक्ष छानबिन हुनुपर्ने पार्टीको माग रहेको बताए।

विभागीय मन्त्री सुधन गुरुङ र प्रधानमन्त्री शाहबीच समन्वय नभएको हो कि भन्ने आशंका गर्दै खरेलले निष्पक्ष छानबिनको माग गरिएको बताए। प्रधानमन्त्रीलाई यसबारे जानकारी थियो होला नि भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीको ‘मन र मुटुमा पस्न नसकिने’ जवाफ दिए । अब यसबारेमा छानबिनबाटै सत्यतथ्य बाहिर आउनुपर्ने प्रष्टीकरण उनले दिएका छन्। प्रस्तुत छ, रास्वपा प्रवक्ता जगदीश खरेलसँगको कुराकानीको सम्पादित अंश :

सरकार र तपाईंहरूको पार्टीबीच पछिल्लो समय थुप्रै खाडल देखिए नि ?

सरकारले गर्ने काम उसले गरिरेहकै हुन्छ। पार्टीले हेर्ने काम पार्टीकै हुन्छ। प्रधानमन्त्री वालेन्द्र शाह र हाम्रा सभापति रवि लामिछानेले सामान्यतया कार्यविभाजन गर्नुभएको छ। पछिल्लो समय सरकारले सरकारको तर्फबाट काम गरिरहँदा र पार्टीले पार्टीको तर्फबाट काम गरिरहँदा कहिलेकाहीँ नमिलेको जस्तो अनुभूति भएको पक्कै हो। तर समग्रमा त्यस्तो खाडल छैन। सानातिना कुराहरूमा कहिलेकाहीँ पार्टीसँग सल्लाह नगरी काम हुन्छ। कतिपय पार्टीका गतिविधि पनि नसोधीकनै हुन्छन्। देखिएको मात्रै हो, खासमा त्यस्तो छैन।

तर पार्टीले बनाएको प्रधानमन्त्री र पार्टीबीच सहकार्य नहुने, छलफल नहुने भन्ने हुन्छ र ? कताकता कुरा मिलेन नि ?

त्यही त, प्रधानमन्त्री र पार्टीलाई नै थाहा नहुनु भनेको कस्तो विडम्बना भयो ! यो त हामी ई सप्राइज भयो। पार्टीलाई पनि थाहा नहुनु र प्रधानमन्त्रीलाई पनि थाहा नहुनु पार्टीबीचको खाडल होइन। हामी आफैँ सप्राइज भइरहेका छौँ नि। प्रधानमन्त्रीज्यूले पनि कुनै हालतमा थाहा छैन भन्नुभयो।

पत्रकार पक्राउ गरेको विषयमा पार्टीलाई थाहा छैन, त्यो सही कुरा हो। तर प्रधानमन्त्रीलाई नै थाहा छैन भने थाहा चाहिँ कसलाई छ ? प्रधानमन्त्री र सरकारबीचको खाडल होइन, बरु सरकार र सरकारअन्तर्गतका निकायहरूबीच समन्वय नभएको हो कि जस्तो देखिन्छ। सरकार र सरकारअन्तर्गतका निकायबीच समन्वय भएन कि भन्ने हाम्रो आशंका हो।

पत्रकार पक्राउ गरेको विषयमा पार्टीलाई थाहा छैन, त्यो ठिकै हो। तर सरकारलाई नै थाहा छैन भने यो खोजीको विषय हो

पार्टीको नेतृत्वमा सरकार छ भनेपछि सरकारभन्दा माथि त पार्टी हुन्छ। त्यसकारण हामीले दुईवटा कुरामा स्पष्ट रूपमा सरकारलाई निर्देशन दिएका हौँ। पत्रकार र सञ्चारमाध्यमलाई जुन तरिकाले सोधपुछ र धरपकड गरिएको छ, त्यो ठीक भएन, गलत भयो भन्ने पार्टीको लाइन हो। बाहिर एउटा कुरा बोल्ने र भित्र अर्को कुरा गर्ने हाम्रो पार्टीको लाइन होइन। संविधानविपरीत र पार्टीको नीतिविपरीत हामी जान चाहँदैनौँ। यस्तो अवस्थामा पार्टीले एक्सन लिन्छ। पार्टीको लाइनमा सरकार चल्नुपर्छ र सरकारको स्पिडमा पार्टी चल्नुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ।

प्रधानमन्त्री र विभागीय मन्त्रीबीच समन्वयको अभाव भयो भन्ने तपाईंहरूको कुरा हो ?

हामी सरकारको आन्तरिक कुरा र सरकारको काममा हस्तक्षेप गर्दैनौँ। तर हाम्रो कुरा के हो भने प्रधानमन्त्रीलाई थाहा छैन भने यो काम कसले गरेको हो त ? विभागीय मन्त्रीलाई त थाहा हुनुपर्‍यो नि। पत्रकार र सञ्चारकर्मीलाई संविधान र विधिभन्दा बाहिर गएर पक्राउ गर्नु त भएन नि।

संविधानले दिएको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई हामी सम्मान गर्छौँ र गर्नुपर्छ। हामी विधिको शासन, मानव अधिकार र स्वतन्त्रताका सबै विषयलाई अगाडि बढाइरहेका छौँ। त्यो अनुकूल देखिएन भने पार्टीले सरकारलाई निर्देशन दिने अधिकार राख्छ। पार्टीले सरकारलाई ट्र्याकमा ल्याउनुपर्ने अवस्था आयो भने ल्याउनुपर्छ पनि।

पार्टी र सरकारबीच कतिपय कुरामा समन्वयको अभाव देखिएको हो भने समन्वय गर्नुपर्छ र फेरि केमेस्ट्री मिलाएर जानुपर्छ भन्ने हिसाबले हामीले हिजो निर्देशन दिएका हौँ।

तर प्रधानमन्त्रीकै निर्देशनमा यस्ता काम भए भन्ने कुराहरू पनि आइरहेका छन् नि ? यो त अलि मिलेन, अलि हाँसो उठ्दो देखियो होइन ?

हामीले निर्देशन दिएका छौँ। किन भयो, कसरी भयो र कसको कारणले भयो भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्छ। हामी यो विषयमा एकदमै सिरियस छौँ। जसले गरेको हो, उसलाई कारबाही गर भनेर प्रधानमन्त्री मातहतका निकायसहित उहाँलाई नै भनिसकेका छौँ। कसको अग्रसरतामा भयो ? कसले निर्देशन दियो ? यस्ता किसिमका गतिविधिप्रति हामी खुसी छैनौँ।

सरकारमा को छ भन्ने विषय यहाँहरूलाई थाहा नै छ। यदि लुकाइएको हो भने पनि यसको यकिन जानकारी आउनुपर्छ। जे भयो, एकदमै गलत भयो। संविधान र पार्टीको नीतिविपरीत भयो। त्यसकारण गलत काम जे भएको छ, त्यसमा कारबाही हुनुपर्छ। सरकारले एक्सन लिएर काम गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट बुझाइ छ।

अर्को कुरा, हामीले फेरि दोहोर्‍याएर के भनेका छौँ भने दोस्रो बुँदामै प्रेस स्वतन्त्रतालाई संविधानले मौलिक अधिकारका रूपमा व्यवस्था गरेकाले यसको सुनिश्चितता हुनुपर्छ। प्रेस स्वतन्त्रताको सुनिश्चितता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पुष्टि गराउने काम गर्न सरकारलाई निर्देशन दिएका छौँ। यो कारणले गर्दा पार्टी यो विषयमा एकदमै स्पष्ट छ।

पार्टीकै तर्फबाट बनेको सरकारको गतिविधिबारे पार्टी नै अनविज्ञ भएपछि त्यसको विकल्प खोज्ने प्रयत्नमा हुनुहुन्छ कि हुनुहुन्न ? थुप्रै घटनामा पार्टीलाई जानकारी छैन भन्दै पन्छिएको देखिन्छ। यसरी नै चलाइन्छ र चल्छ भन्ने हो कि विकल्पबारे पनि सभापतिज्यूको केही सोच छ ?

सरकारको तर्फबाट गलत भइरहेको कुरालाई पार्टीले के गर्नुपर्थ्यो र के गरेन भन्ने एउटा पाटो होला। पार्टीले सरकारको तर्फबाट गलत भइरहेको कामलाई सच्याउनुपर्छ भनेर हरेक निर्देशन दिइरहेको छ र निर्देशनको पालना पनि भइराखेको छ।

औपचारिक रूपमा सरकार प्रमुखलाई नै ‘यो गलत भयो, यो ठीक छैन, सच्याउनुपर्छ’ भनेर जानकारी गराइराखेको अरू पार्टीमा थियो ? विगतमा यस्तो निर्देशन दिएको तपाईंहरूलाई पनि थाहा छैन। त्यसकारण पहिला के कारणले यस्तो भयो र कसले यस्तो गरिरहेको छ भन्ने जरा पत्ता लगाउनुपर्छ। त्यत्तिकै ‘यो ठीक भएन, अब विकल्पमा जाऔँ’ भन्ने तरिकाले हतारिनु त भएन नि।

तर सरकारकै गल्ती रहेछ भने चाहिँ के गर्नुहुन्छ ?

हामी पहिला यो हाइपोथेसिसमा नजाऔँ कि जस्तो लाग्छ। पहिला त पार्टीले यो घटना भएलगत्तै मैले आफैँ सामाजिक सञ्जालमा प्रवक्ताका रूपमा आधा घण्टाभित्रै ‘यो गलत भयो, स्पष्ट रूपमा सच्याउनुपर्छ’ भनिसकेको छु।

त्यसमा सभापतिज्यू र पार्टीका अरू नेताहरू पनि बोलिसक्नुभएको छ। हामीले सचिवालय बैठकबाट पनि निर्णय गरिसकेका छौँ। प्रवक्ताले बोलेको एक घण्टा नबित्दै पार्टीको आधिकारिक लेटरप्याडमा पनि यसबारे सत्यतथ्य बाहिर आउनुपर्ने माग राख्यौँ र यसको विरोध गर्‍यौँ।

पार्टीको लाइनमा सरकार चल्नुपर्छ भन्नेमा स्पष्ट छौँ, त्यहीकारण गम्भीर छानबिनको माग गरेका हौँ

त्यसपछि पार्टी सभापति रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहबीच कुराकानी भएर तत्कालै पक्राउ परेका व्यक्तिहरूलाई छाड्न आदेश पनि दिइयो। जसलाई पक्राउ गरिएको थियो र थुनामा राखिएको थियो, उहाँहरूलाई एकदेखि डेढ घण्टाभित्रमा छाडियो पनि।

हिजो हामीले छ घण्टा सचिवालय बैठकमा यही विषयमा गम्भीर रूपमा छलफल गर्‍यौँ। पार्टीको सबैभन्दा माथिल्लो निकाय सचिवालय बैठकले आधिकारिक रूपमा निर्देशन दिएर यी सबै कुरा गलत भएका छन्, गलत काममा संलग्नलाई तत्काल कारबाही गर भनेर सरकारलाई निर्देशन दियो।

अब पार्टीको भूमिकामाथि त यहाँहरूले प्रश्न गर्नुपर्छ जस्तो मलाई लाग्दैन। अर्को कुरा, पार्टीले सरकारलाई निर्देशन दिन्छ र गलत कुरामा सच्याउन आग्रह गर्छ भन्ने यहाँहरूलाई थाहा नै छ। म फेरि भन्छु, पत्रकार पक्राउ गर्ने विषय र अरू यावत् कुरामा सरकारले गरेका गतिविधिबारे पार्टीलाई जानकारी छैन।

पार्टीलाई जानकारी नभएपछि हामीले एक्सन नै लिएर सरकारलाई निर्देशन दिएका छौँ। गलत कुरा भएका छन् भने सरकारले सच्याउनुपर्छ भनेर पार्टी सभापतिज्यू एकदमै एक्सनमा काम गरिरहनुभएको छ। पार्टीको भूमिकाका सन्दर्भमा यहाँहरूले प्रश्न गर्ने ठाउँ छैन। सरकारको भूमिकाका सन्दर्भमा यहाँहरूले उठाएको प्रश्नलाई हामी जायज मान्छौँ। किनभने हामी पनि सरकारलाई प्रश्न गरिरहेका छौँ।

पार्टीको नियन्त्रणमा सरकार यो घटनामा चाहिँ नभएकै हो, यो कुरा हामीले स्वीकार गर्नुपर्छ। हिजोकै सचिवालय बैठकमा सरकारको तर्फबाट तीनजना मन्त्रीहरू हुनुहुन्थ्यो। अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोबिता गौतम र परराष्ट्रमन्त्री शिशिर खनाल हुनुहुन्थ्यो। उहाँहरूले पनि अनौपचारिक रूपमा सरकारलाई थाहा नभएकै जानकारी गराउनुभयो।

भनेपछि थाहा चाहिँ कसलाई छ भन्ने सत्य बाहिर आउनुपर्छ भन्नेमा हामी सबैको एकमत छ। हामीले कारबाही गर्न निर्देशन दिएका छौँ। त्यो कारबाहीको प्रक्रिया कसरी अगाडि बढ्छ भनेर हामी बाटो हेरिरहेका छौँ। हामी यो विषयमा एकदमै चिन्तित र गम्भीर छौँ। आगामी दिनमा यस्ता घटना घट्नु हुँदैन भन्ने विषयमा पनि हामी एक ठाउँमा छौँ।

तपाईं पत्याउनुहुन्छ, प्रधानमन्त्रीलाई पत्रकार पक्राउ गरिएको विषय र बिचौलियासँगको साँठगाँठबारे जानकारी थिएन भनेर ?

हेर्नुस्, अरूको मन र मुटुमा बस्ने कुरा भएन। प्रधानमन्त्रीले आफ्ना सहयोगीमार्फत जानकारी थिएन भनिसक्नुभएको छ। अब अरूको मन र मुटुमा पस्ने कुरा पनि भएन। तर हामी यो विषयमा एकदमै गम्भीर छौँ।

हिजोको बैठकमा सरकारका मन्त्रीहरूदेखि प्रधानमन्त्रीकै सचिवालयका राजनीतिक सल्लाहकार असिम साह पनि हुनुहुन्थ्यो। उहाँले पनि यो विषयमा जानकारी नभएको भन्नुभयो। त्यसपछि अब हामीले के भन्ने त ? यी कुराहरूको वास्तविकता के रहेछ भनेर नै हामीले सत्यतथ्य र निष्पक्ष छानबिन होस् भन्ने माग गरेका हौँ।

पार्टी सप्राइज भइरहँदा सरकार पनि सप्राइज भएको भन्ने कुरा आउँदा जनता झन् सप्राइज भए। त्यसकारण सत्यतथ्य बाहिर आउनुपर्छ। जहिले पनि यही तरिकाले काम गरेर त भएन नि।

देशका प्रमुख निकायले बिचौलियासँग साँठगाँठ गरेको विषयमा त हामी झन् गम्भीर छौँ। यसबारे सत्यतथ्य बाहिर नआइकन कसैलाई सुखै छैन।