१० वर्षदेखि अलपत्र पुलसहित रौतहटका तीन आयोजनाको ठेक्का तोडियो

१० वर्षदेखि अलपत्र पुलसहित रौतहटका तीन आयोजनाको ठेक्का तोडियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लामो समयदेखि निर्माण अलपत्र परेका रौतहटका तीनवटा पूर्वाधार आयोजनाको ठेक्का सम्झौता अन्त्य गरिएको छ । पटक–पटक म्याद थप्दा पनि कामले गति लिन नसकेपछि सरकारले दुईवटा पुल र एउटा सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडेको हो ।

ठेक्का तोडिएका आयोजनामा चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गतको लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडकखण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति तथा पुनर्स्थापना आयोजना छन् ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार निर्माण सम्पन्न हुने आधार नदेखिएका ठेक्का सम्झौता अन्त्य गरेर नयाँ ठेक्का प्रक्रियाबाट काम अघि बढाउने नीति सरकारले लिएको छ ।

लमाहा र लौकाहा खोला पुल निर्माणका लागि २१ चैत २०७३ मा पप्पु/शिवशंकर जेभी, गरुडा रौतहटसँग सम्झौता भएको थियो । सम्झौताअनुसार दुवै पुल आर्थिक वर्ष २०७५/७६ मै निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर, पटक–पटक म्याद थपिएर अन्तिम समयसीमा ३० असार २०८० सम्म पुर्‍याउँदा पनि निर्माण पूरा हुन सकेन ।

समयमै पुल निर्माण नहुँदा त्यस क्षेत्रका नागरिकले लामो समयदेखि आवागमनमा समस्या झेल्दै आएका छन् । सडक सञ्जालमा महत्वपूर्ण मानिएका यी पुल निर्माणमा भएको ढिलाइले स्थानीय यातायात र दैनिक आवतजावतसमेत प्रभावित हुँदै आएको छ ।

यसैगरी महेन्द्र राजमार्गको धनसार–बागमती खण्डमा सडक स्तरोन्नति तथा पुनर्स्थापनाका लागि गरिएको ठेक्का पनि अन्त्य गरिएको छ । गत आर्थिक वर्षभित्रै काम सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा भौतिक प्रगति शून्य रहेपछि ठेक्का सम्झौता तोडिएको हाे ।

सडक डिभिजन चन्द्रनिगाहपुरले पनि तीनवटै ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सूचनाअनुसार पप्पु/शिवशंकर जेभीसँग लमाहा खोला पुल र लौकाहा खोला पुल निर्माणका लागि भएका दुईवटा ठेक्का तथा धनसार–बागमती सडकखण्ड स्तरोन्नतिको ठेक्का सम्झौता अन्त्य गरिएको हो ।

तीन आयोजनाको ठेक्का अन्त्यसँगै अब बाँकी निर्माण कार्य नयाँ प्रक्रियाबाट अघि बढाउने तयारी गरिएको छ ।