काठमाण्डु- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्ध रहेको भनिएका झापाली युवा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको अडियो बयानमा कयौँ उच्च पदस्थ र व्यापारीसम्मलाई पोलेका छन्।
हाल जिल्ला प्रहरी परिसर काठमाण्डुको हिरासतमा रहेका उनले न्यायिक, राजनीतिक र व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूको नाम लिँदै करोडौँ रुपैयाँको कारोबारबारे खुलासा गरेका छन्।
गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सापकोटाले जिल्ला प्रहरी परिसर काठमाण्डुको हिरासतमा दिएको अडियो बयानमा काठमाण्डु जिल्ला अदालतमा विचाराधीन मुद्दा मिलाउन तीन करोड रुपैयाँको डिल भएकोदेखि नेपाली कांग्रेसको आधिकारिकता विवादमा १८ करोड रुपैयाँको कारोबार भएको दाबीसम्म गरेका छन्।
उनको बयानमा पूर्वप्रधानन्यायाधीश जबरा, प्रभुशमशेर जबरा (चोलेन्द्रका भाइ) भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा (पार्टीको आधिकारिकतासम्बन्धी विवादमा), कांग्रेसकै पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठ, अर्का नेता दीपक खड्का र सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीको नाम आएको छ।
सापकोटाले बयानका क्रममा आफू विभिन्न प्रभावशाली व्यक्तिहरूसँग व्यावसायिक साझेदारीमा रहेको, उनीहरूमार्फत् रकम परिचालन गरेको र केही न्यायिक तथा राजनीतिक विषयमा आर्थिक लेनदेन भएको दाबी गरेका छन्। उनको बयानमा उल्लेख भएअनुसारका कारोबार वास्तवमै भएका थिए वा थिएनन् र नाम जोडिएका व्यक्तिहरूको भूमिका के थियो भन्ने विषय प्रहरीको अनुसन्धानबाट खुल्दै जानेछ।
तीन करोडको डिल, जबरा र गुरुङको नाम
सापकोटाको बयानको सबैभन्दा गम्भीर दाबी काठमाण्डु जिल्ला अदालतमा विचाराधीन एउटा मुद्दा मिलाउने विषयसँग सम्बन्धित छ। उनले उक्त मुद्दा मिलाउन तीन करोड रुपैयाँमा डिल भएको बताएका छन्।
ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलका अध्यक्ष नवीन तुलाधरमार्फत अदालतमा विचाराधीन मुद्दाको सेटिङका लागि २० लाख रुपैयाँ आएको बयान उनले दिएका छन्। उनले उक्त प्रकरणमा जम्मा तीन करोड रुपैयाँको डिल भएको खुलाएका छन्।
रकम पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका लागि गएको दाबी गरेका छन्। बयानमा उनले उक्त पैसा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङकहाँ पुगिसकेको बताएका छन्।
सापकोटाले प्रभुशमशेर जबराबाट आएको पैसा भाटभटेनीमार्फत घुमाएको पनि बताएका छन्। उनले मीनबहादुर गुरुङ र प्रभुशमशेर जबरा पनि आफूहरूसँग साझेदारीमा रहेको दाबी गरेका छन्।
उनको यो बयानले न्यायिक प्रक्रियामा आर्थिक लेनदेनमार्फत प्रभाव पार्ने प्रयास भएको थियो कि भन्ने गम्भीर प्रश्न पनि उठाएको छ। तर तीन करोडको डिल भएको, रकम कसले दिएको, कसले लिएको र त्यसको उद्देश्य के थियो भन्ने कुराबारे प्रहरीले अझै अनुसन्धान जारी राखेको छ।
कांग्रेसको आधिकारिकता विवादमा १८ करोडको दाबी
सापकोटाको बयानमा आएको अर्को राजनीतिक रूपमा संवेदनशील विषय नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद हो।
उनले कांग्रेसमा गगनकुमार थापाको आधिकारिकताका लागि १८ करोड रुपैयाँको डिल भएको दाबी गरेका छन्। उक्त प्रकरणमा सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीलाई तीन करोड रुपैयाँ दिएको उनको बयानमा उल्लेख छ।
सापकोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूलाई गगन थापा र निर्वाचन आयोगका सगुनशमशेर राणालाई सहयोग गर्न भनेको पनि दाबी गरेका छन्।
उनले कांग्रेस नेता दीपक खड्काले आफूलाई जबरासँग चिनजान गराएको बयान दिएका छन्। यसैगरी कांग्रेसका पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठको जग्गासमेत आफ्नो नाममा लिने प्रक्रिया अघि बढेको उनले बयानमा उल्लेख गरेका छन्।
सापकोटाको यो बयानले कांग्रेसको आन्तरिक विवाद र न्यायिक प्रक्रियाबीच कुनै आर्थिक लेनदेन वा अनौपचारिक पहुँचको सम्बन्ध हुन सक्न गम्भीर प्रश्न उठाएका छन्।
स्वीसदेखि बेल्जियमसम्मका बैंकमा खाता
सापकोटाले आफ्नो आर्थिक कारोबार र बैंक खाताबारे पनि बयानमा विवरण दिएका छन्। उनले बयानमा आफूले अहिलेसम्म २७ वटा देश घुमिसकेको बताएका छन्।
इनमले जर्मन र स्वीस बैंकमा पनि आफ्नो खाता रहेको खुलाएका छन्। पछिल्लो समय बेल्जियमको वाइज बैंकबाट कारोबार गरिरहेको उनले बताएका छन्। नेपालमा एनआईएमबी र सिटिजन्स बैंकमा खाता रहेको बयान उनले दिएका छन्।
उता भारतमा पढ्दा भारतीय स्टेट बैंक (एसबीआई) मा खाता खोलेको उनले उल्लेख गरेका छन्। भारतबाट नेपाल फर्किएपछि प्रभु बैंकमा पनि खाता खोलेको उनले बताएका छन्।
उनले अहिलेसम्म क्रेडिट कार्डको ऋण नतिरेको समेत बयानमा उल्लेख गरेका छन्। आफूले शेयर कारोबारी अतितलाल श्रेष्ठसँग मिलेर शेयर कारोबार गरेको पनि खुलाएका छन् । तर त्यसमा लगानी भएको रकम आफ्नै भएको उनको दाबी छ। सबै पैसा नयाँबानेश्वरस्थित आई फ्लिक्स मलको कारोबार सेटल गर्न लगाएको पनि उनले बयान दिएका छन्।
नयाँ सरकार बनेसँगै कारोबार र सक्रियता बढ्यो
सापकोटाले गत चैत १३ गते वालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेपछि आफूले गत वैशाख-जेठदेखि यसरी ठूलो सेटिङसहितको कारोबार गर्न थालेको बताएका छन्।
उनले न्यायाधीश हरि फुयालसँगको ह्वाट्स एप संवादमा प्रधानमन्त्री वालेन्द्र शाहको नामसमेत लिएका छन्। उक्त मुद्दामा प्रधानमन्त्री वालेन्द्रको पनि चासो रहेको बताउँदै इनमले फुयाललाई पटक पटक म्यासेज पठाएको भेटिएको छ।
नयाँ सरकार गठनपछि यस्ता कारोबार र सेटिङमा सक्रिय भएको बयान दिए पनि उनले कहिले, कससँग र कुन प्रयोजनका लागि भएको थियो भन्ने विस्तृत समयक्रम खुलाएका छैनन् ।
को हुन् इनम ?
३१ वर्षीय सापकोटाको स्थायी ठेगाना झापाको दमक नगरपालिका हो। उनको परिवार काठमाण्डुको बूढानीलकण्ठ क्षेत्रमा बस्दै आएको छ। उनी काठमाण्डुको पानीपोखरीस्थित एक आवासीय भवनमा बस्ने गरेका थिए।
अनुसन्धानका क्रममा उनले कतिपय ठाउँमा आफू विदेशी दूतावासमा कार्यरत चिकित्सक भएको परिचय दिने गरेको विवरणसमेत खुलेको छ। तर उनको वास्तविक भूमिका उच्च पदस्थ व्यक्तिहरूसँगको व्यक्तिगत पहुँच देखाएर विभिन्न काम मिलाइदिने मध्यस्थकर्ता अर्थात् बिचौलिया जस्तो देखिएको छ।
प्रहरीले उनको मोबाइल तथा ह्वाट्सएप संवाद अध्ययन गर्दा पूर्वप्रधानन्यायाधीश जबरा, बहालवाला तथा पूर्वन्यायाधीश र सुरक्षा निकायका उच्च अधिकारीहरूसँग नियमित सम्पर्क रहेको विवरण फेला पारेको छ।
आईजीपी दानबहादुर कार्की र एआईजीपी राजन अधिकारीसँग पनि उनी सम्पर्क रहेको विवरण अनुसन्धानमा पाइएको छ। उनले उच्च पदस्थ र शक्तिशाली व्यक्तिहरूको सम्पर्कमार्फत् अदालतका मुद्दामा अनुचित प्रभाव पार्ने तथा सुरक्षा निकायमा सरुवा र बढुवाका लागि चलखेल गरेको कुरामा अनुसन्धान भइरहेको छ।
ललितपुरको नख्खु कारागार हुँदै अहिले सिन्धुपाल्चोक पुगेका व्यवसायी दीपक भट्टलगायत विभिन्न व्यावसायिक समूहसँग पनि उनको सम्बन्ध रहेको देखिएको छ। सुरक्षा निकायका पोसाक खरिदलगायत ठेक्कापट्टाका विषयमा पनि उनले चासो राख्ने गरेको अनुसन्धानबाट खुलेको छ।
विमानस्थलबाट पक्राउ
सापकोटा प्रकरण सार्वजनिक रूपमा चर्चामा आउनुको मुख्य आधार पूर्वप्रधानन्यायाधीश जबरासँग जोडिएको घटना बनेको थियो। सुरक्षासम्बन्धी कारण देखाउँदै प्रहरीले जबरालाई नियन्त्रणमा लिएर टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएको थियो।
त्यस क्रममा उनको मोबाइल परीक्षण गर्दा सापकोटासँग पटकपटक सम्पर्क भएको विवरण भेटिएपछि प्रहरीले सापकोटाको खोजी तीव्र पारेको थियो। उनी दिल्ली जान लागेको अवस्थामा गत असोज ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
सुरुमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो । तर पछि सम्पत्ति शुद्धीकरणलगायत सम्भावित कसुरलाई समेत अनुसन्धान थालिएको छ।
सापकोटाको मोबाइल तथा ह्वाट्सएप संवादमा न्यायिक क्षेत्रका व्यक्ति, राजनीतिक नेतृत्व, सुरक्षा निकायका उच्च अधिकारी र विभिन्न मुद्दामा थुनामा रहेका व्यवसायीसँगको सम्पर्क देखिएको छ। प्रहरीले ती संवादको प्रकृति, उद्देश्य र सम्भावित आर्थिक कारोबारबारे अनुसन्धान गरिरहेको छ।
दीपक भट्टदेखि हरि फुयालसम्म सम्पर्क
सापकोटा प्रकरणको अर्को महत्त्वपूर्ण कडी व्यवसायी दीपक भट्टसँग जोडिएको छ। भट्टमाथि सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरलगायत विषयमा अनुसन्धान तथा अभियोजन भएर अहिले जेलमा छन्।
भट्टलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको थियो। त्यसपछि उनको सम्भावित रिहाइलाई लिएर विभिन्न सेटिङ सुरू भएको कुरा बाहिरिएको थियो। यही घटनाक्रमको अनुसन्धान गर्ने क्रममा पूर्वप्रधानन्यायाधीश जबरा र सापकोटाबीचको सम्पर्कसम्म प्रहरी पुगेको हो।
यस प्रकरणमा इनम र सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको ह्वाट्सएप म्यासेज नै बाहिरिएको छ। त्यहीकारण अब राष्ट्रिय स्वतन्त्र पार्टीले फुयालमाथि महाभियोग प्रक्रिया अघि बढाउने संकेत शनिबारको सचिवालय बैठकबाट दिइसकेको छ।
यी दुईको संवादमा व्यवसायी दीपक भट्ट समूहसँग सम्बन्धित रोहित गुप्तालाई धरौटीमा रिहा गर्ने आदेशबारे कुराकानी भएको पाइएको छ।
न्यायाधीश फुयालले सापकोटालाई अदालतको आदेशको कडी पठाएको उल्लेख छ। अर्को दिन साँझ होटल हिमालयमा भेट्ने प्रस्तावसमेत संवादमा भेटिएको छ।
सुरक्षा निकायका उच्च अधिकारीसँग पनि सम्पर्क
सापकोटा प्रकरणको अर्को पक्ष सुरक्षा निकायका उच्च अधिकारीसँगको सम्पर्क हो। पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी कार्यालयमा रहेका बेला सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल रातिको समयमा उनलाई भेट्न पुगेका थिए।
उक्त भेटबारे प्रहरी नेतृत्वलाई पूर्वजानकारी नगराइएको पाइएपछि उनको भूमिकामाथि छानबिन सुरु भएको थियो।
पछि सापकोटासँगको सम्पर्क र संवेदनशील सूचना बाहिरिएको आरोपसँग सम्बन्धित विषयमा दाहालमाथि विभागीय अनुसन्धान भएर निलम्बनपछि सरकारले पदबाटै बर्खास्त गरिसकेको छ।
भूलसुधार – यसै समाचारमा असावधानीवश एक बैंकको नाम समावेश भएकोमा क्षमायाचनासहित सच्याएमा छौँ। -सम्पादक


प्रतिक्रिया