गोरखा जेल ‘ब्रेकर’ उमा भुजेल १४ वर्षपछि पुरानै घरमा, प्रचण्डले गरे स्वागत

गोरखा जेल ‘ब्रेकर’ उमा भुजेल १४ वर्षपछि पुरानै घरमा, प्रचण्डले गरे स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट निष्कासित नेतृ उमा भुजेल १४ वर्षपछि पुरानै घरमा फर्किएकी छन्। उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेकी छन्।

तत्कालीन अवस्थामा माओवादीले चलाएको १० वर्षे जनयुद्धताका गोरखा जेल ब्रेक गरेर चर्चित बने भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई मंगलबार पेरिस डाँडामा स्वागत गरिएको हो ।

पेरिसडाँडामा आयोजित एकता कार्यक्रममा दुई पार्टीबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। एकता सहमतिमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीकी महासचिव भुजेलले हस्ताक्षर गरेका छन्।

भुजेलको माओवादी आन्दोलनको मूलधारबाट बाहिरिएको १४ वर्षपछि पुरानो घरमा फिर्ता भएकी हुन् । उनी २०६९ सालमा तत्कालीन एकीकृत नेकपा (माओवादी) फुटेका समयमा मोहन वैद्य ‘किरण’ नेतृत्वको समूहतिर गइन् । वैद्य समूह पनि फुट्दा उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको एकीकृत क्रान्ति अभियानमा लागिन्।

तर उनी विप्लव नेतृत्वको पुनर्गठित नेकपा (माओवादी) मा पनि बस्न सकिनन् । उनलाई गत असार १ गते विप्लवले निष्कासन गरे। त्यसपछि उनले नेकपा पुनर्गठन गरिन् । तर अहिले आएर उनी प्रचण्डको पार्टीमा प्रवेश गरेकी छन् ।

त्यो जेल ब्रेक

भुजेल माओवादी जनयुद्धकालमा गोरखा जेल ब्रेक गरेपछि चर्चित भइन् । २०५६ कात्तिक १३ गते राति लमजुङको तान्द्राङबाट पक्राउ परेकी उनलाई गोरखा कारागारमा राखिएको थियो ।

गोरखामा चार दिन राखेपछि तनहुँ लगियो । उनलाई तनहुँ अदालतले तारिखमा छोड्यो । तर प्रहरीले उनलाई पुनः पक्राउ गरेर गोरखा पुर्‍यायो ।

त्यसपछि २०५७ चैत १७ गते राति भुजेलको नेतृत्वमा पाँच जना माओवादी कार्यकर्ताले जेल ब्रेक गरे। यो घटना अहिले पनि ‘गोरखा जेल ब्रेक’का चर्चित छ।

१४ वर्षपछि मूलधारमा

२०६९ सालमा माओवादी विभाजनपछि वैद्य समूह हुँदै विप्लव नेतृत्वको पार्टीमा पुगेकी भुजेल पछिल्लो समय आफ्नै नेतृत्वमा पार्टी सञ्चालन गरिरहेकी थिइन्। अब उनी प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएकी छन्।

सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न पाँचकुने तारा रहनेछ। पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद तथा नेपाली क्रान्तिको कार्यक्रम ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ हुने सहमतिपत्रमा उल्लेख छ।

एकीकृत पार्टीको आन्दोलन मूलतः शान्तिपूर्ण हुने तर समय र परिस्थितिअनुसार आन्दोलनका सबै स्वरूप प्रयोग गर्न सकिने सहमति पनि भएको छ। सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनको मोर्चाका रूपमा अघि बढाइने सहमतिपत्रमा उल्लेख छ।

त्यस्तै, आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने भएको छ। केन्द्रीय समिति, केन्द्रीय कार्य समिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकाय सहमतिका आधारमा समायोजन गरिने सहमति भएको छ।

सबै तहका पार्टी समिति र जनसङ्गठनको समायोजन पनि सहमतिका आधारमा गरिने सहमति भएको छ। यस्तो समायोजनको काम आगामी मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ।

दुई पार्टीबीच सिद्धान्त, विचार र विगतको समीक्षालगायत विषयमा रहन सक्ने मतभेदलाई निरन्तर छलफलमार्फत समाधान गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमति भएको छ।