काठमाण्डु- आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनसँगै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो।
विराटनगरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन मात्र बनाउन सक्यो।
जनकपुरका लागि विशाल सुस्लिङ र सैफ हसनले चौथो विकेटका लागि ७६ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए। सुस्लिङले ३० बलमा २ चौका र ३ छक्कासहित ४३ रन बनाए। उनलाई एंगेलो म्याथुजको बलमा बसिर अहमदले क्याच गरेका थिए।
त्यसपछि सैफ हसन र जिम्मी निसमले पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै जनकपुरलाई जितको नजिक पुर्याए। निसमले १५ बलमा ३ छक्कासहित २७ रन बनाए। उनलाई रुपेश सिंहले आउट गरेपछि विराटनगर खेलमा फर्किएको थियो।
जनकपुरका ओपनर मइन अली १० रनमा आउट हुँदा तृतराज दास ६ र अनिल शाह शून्य रनमै पेभेलियन फर्किए।
विराटनगरका लागि रसेलले बलिङतर्फ ४ विकेट लिए। म्याथुजले २ तथा रुपेश सिंहले १ विकेट लिए।
यसअघि टस जितेर जनकपुरले बलिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७४ रनको योगफल तयार पारेको थियो।
विराटनगरको इनिङ्समा ३ ब्याटरले अर्धशतक पूरा गरेका थिए। एनपीएलको एउटै इनिङ्समा ३ ब्याटरले अर्धशतक बनाएको यो पहिलोपटक हो।
इमरान शेखले ४५ बलमा ५ चौका र २ छक्कासहित ५६ रन बनाए। रसेलले २९ बलमा २ चौका र ५ छक्कासहित अविजित ५२ रन जोडे। शुभम रञ्जाने ७ रनमा नटआउट रहे।
लोकेश बमले ४० बलमा ३ चौका र ३ छक्कासहित ५० रन बनाए। उनी राहुल यादवको बलमा ललित राजवंशीबाट क्याच आउट भए। एनपीएलमा दुई अर्धशतक पूरा गर्ने पहिलो खेलाडी पनि लोकेश बनेका छन्।
रसेलको ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शनसँगै विराटनगरले रोमाञ्चक खेल आफ्नो पक्षमा पार्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो।


प्रतिक्रिया