काठमाण्डु- जेन-जी अगुवा रवि किरण हमालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री वालेन्द्र शाहदेखि नेपाली कांग्रेसका सभापति गगनकुमार थापासम्मको नाम जोडिएर सार्वजनिक भएका आरोपको निष्पक्ष छानबिन गर्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने माग गरेका छन्।
सार्वजनिक भएका ह्वाट्सएप सन्देश र अडियो सामग्रीमा प्रधानमन्त्रीको नाम लिएर न्यायाधीशलाई धम्क्याउने, विभिन्न मुद्दामा सेटिङ मिलाउनेदेखि कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको डिल भएको आरोपसमेत उल्लेख भएको भन्दै उनले न्यायालयदेखि कार्यपालिकासम्मका उच्च पदस्थ व्यक्तिमाथि प्रश्न उठेको बताएका छन्।
प्रधानमन्त्रीदेखि विपक्षी दलका सभापतिसम्मको नाम जोडिएको अवस्थामा विद्यमान राज्य संयन्त्रबाट निष्पक्ष अनुसन्धान सम्भव छ कि छैन भन्ने गम्भीर प्रश्न खडा भएको उनको भनाइ छ।
त्यसैले प्रतिनिधिसभाप्रति उत्तरदायी हुने र उच्च नैतिक चरित्र भएका प्रबुद्ध तथा निष्पक्ष व्यक्तिहरू सम्मिलित लोकपाल गठन गर्नुपर्ने उनले बताएका छन्।
लोकपाललाई आवश्यक कागजात तथा अभिलेख झिकाउने, सम्बन्धित व्यक्तिहरूलाई उपस्थित गराउने, प्रमाण संकलन गर्ने र कानुनी प्रक्रियाअनुसार कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिनुपर्छ। प्रधानमन्त्रीलाई समेत अनुसन्धानको दायरामा ल्याउन सक्ने स्वतन्त्र संयन्त्र आवश्यक रहेको उनको तर्क छ।
सापकोटा प्रहरी हिरासतमा रहेका बेला उनको बयान, अडियो तथा निजी सन्देशहरू छानीछानी टुक्राटुक्रा सार्वजनिक भइरहेको विषयमा पनि हमालले प्रश्न उठाएका छन्।
अनुसन्धानकै क्रममा रहेका सामग्री कसले र किन सार्वजनिक गरिरहेको छ भन्ने प्रश्न गर्दै उनले यसले अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि आशंका पैदा गरेको बताएका छन्।
प्रधानमन्त्रीदेखि विपक्षी दलका सभापतिसम्मको नाम जोडिएको प्रकरणमा विद्यमान राज्य संयन्त्रबाट निष्पक्ष अनुसन्धान सम्भव नभएको उनको दाबी
‘राज्यका निकाय अनुसन्धान गर्ने हुन् कि सूचना चुहाएर कसैको स्वार्थअनुसार जनमत निर्माण गर्ने?’ भन्दै हमालले अनुसन्धानका नाममा भइरहेका सूचना चुहावटमाथि पनि प्रश्न उठाएका छन्।
उनले यसअघि पनि न्यायालयदेखि कार्यपालिकासम्मका उच्च पदस्थ व्यक्तिहरूको छानबिन गर्न सक्ने अधिकारसम्पन्न स्वतन्त्र नागरिक आयोग अर्थात् लोकपाल गठनको माग गर्दै आएको स्मरण गराएका छन्।
शक्तिमा रहेका व्यक्तिहरूलाई समेत कानुनी जवाफदेहिताको दायरामा ल्याउन र इनम सापकोटा प्रकरणको सत्यतथ्य स्थापित गर्न स्वतन्त्र लोकपाल गठन अपरिहार्य रहेको हमालको भनाइ छ।


प्रतिक्रिया