कर्णाली याक्सबाट खेल्न आइपुगे डेभिड मिलर, पहिलो खेल छिमेकी सुदूरपश्चिमविरुद्ध

कर्णाली याक्सबाट खेल्न आइपुगे डेभिड मिलर, पहिलो खेल छिमेकी सुदूरपश्चिमविरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् ।

बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरे।

३७ वर्षीय मध्यक्रमका बायाँ हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरूमा बलियो छाप छाडेका छन् ।

भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रै लिग खेलेका छन् ।

उनले आईपीएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आईपीएल जित्दा मिलर मुख्य खेलाडी थिए ।

कर्णाली याक्स स्पोर्ट्समा मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अध्यक्ष गृहेन्द्र घिमिरेले बताएका छन् ।

मिलरले दक्षिण अफ्रिकाबाट एक सय ४० टी–२०  आईमा दुई हजार ८०४ रन बनाएका छन् । यसक्रममा दुई सतक र ९ अर्धसतक प्रहार गरेका थिए । उनको आफ्नो करियरको दुई टी–२० सतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए ।

यता, पाँच सय ८४ टी–२० आई खेल खेल्दा १२ हजार ४३५ रन बनाएका छन् । यसक्रममा चार सतक तथा ५३ अर्धसतक बनाएका छन् ।

मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध खेल्दा ३५ बलमै कीर्तिमानी सतक प्रहार गरेका थिए । यस्तै, आईपीएलमा पञ्जावबाट रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दा ३८ बलमै सतक प्रहार गरेका थिए ।

कात्तिक ९ बाट सुरु भएको एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ । जसमध्ये दुई खेल जितेको थियो ।

टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रोमा विराटनगरलाई ४ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने काठमाडों गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो ।

अब, कर्णालीले शुक्रबार सुदूपश्चिम रोयल्सँग खेल्दैछ । उक्त खेलमा डेभिड मिलर सहभागी हुनेछन्।