एनपीएल

१३ खेल सकिँदा कुन टिमको अवस्था कस्तो ?

१३ खेल सकिँदा कुन टिमको अवस्था कस्तो ?

लोेकेश शीर्ष ब्याटर, मोइन सर्वाधिक विकेट लिने खेलाडी बने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।

प्रतियोगितामा मंगलबारसम्म १३ खेल सम्पन्न भएका छन् । आठ टोली सहभागी प्रतियोगितामा अहिलेसम्मको प्रदर्शनका आधारमा लुम्बिनी लायन्सले शीर्षस्थानमा स्थापित गरेको छ भने पोखरा एभेन्जर्सले जितको खाता खोल्न सकेको छैन ।

मंगलबार भएका दुई खेलले अंकतालिकाको समीकरणमा थप परिवर्तन ल्याएका छन् । पहिलो खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गर्‍यो भने दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई आठ विकेटले हरायो ।

१३ खेल सकिँदा लुम्बिनी पाँच अंकसहित पहिलो स्थानमा छ । विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिम समान चार अंकमा छन् ।

नेट रनरेटका आधारमा उनीहरूको स्थान निर्धारण भएको छ । चितवन तीन अंकसहित छैटौँ, काठमाडौं दुई अंकसहित सातौँ र पोखरा अंकविहीन हुँदै आठौँ स्थानमा छन् ।

अंकतालिकामा कुन टिम कहाँ ?

लुम्बिनी लायन्स : अपराजित रहँदै शीर्षस्थानमा

लुम्बिनी लायन्सले प्रतियोगिताको सुरुवातदेखि नै सन्तुलित प्रदर्शन गरिरहेको छ । तीन खेलबाट दुई जित र एक नतिजाविहीन खेलसहित पाँच अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा छ ।

लुम्बिनीको नेट रनरेट ४.०५१ छ, जुन प्रतियोगितामा सहभागी आठ टोलीमध्ये सबैभन्दा राम्रो हो । कम खेल खेलेरै शीर्षस्थानमा रहनु र ठूलो अन्तरको जित निकाल्नु उसको अर्को सकारात्मक पक्ष हो ।

लुम्बिनीका लागि आगामी खेलहरू भने महत्त्वपूर्ण हुनेछन् । अहिलेसम्म तीन खेल खेलेको उसले लिग चरणमा थप चार खेल खेल्न बाँकी छ । शीर्षस्थान जोगाउन उसले यही लय कायम राख्नुपर्नेछ ।

विराटनगर किंग्स : उतारचढावबीच पुनरागमन

विराटनगर किंग्सले चार खेलमा दुई जित र दुई हार बेहोरेको छ । चार अंकसहित दोस्रो स्थानमा रहेको विराटनगरको प्रदर्शनमा उतारचढाव देखिए पनि पछिल्ला खेलमा टोलीले पुनरागमन गरेको छ ।

टोलीका लागि लोकेश बम र आन्द्रे रसेलको ब्याटिङ महत्त्वपूर्ण देखिएको छ । तथ्यांकअनुसार लोकेश बम १८८ रनसहित प्रतियोगिताका सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा शीर्षस्थानमा छन् । रसेलले पनि १४१ रन बनाइसकेका छन् ।

विराटनगरले बाँकी तीन खेलमा आफ्नो ब्याटिङ लय र बलिङको प्रभावकारितालाई निरन्तरता दिन सके प्लेअफको दौडमा बलियो उपस्थिति जनाउन सक्छ ।

कर्णाली याक्स : बलियो सुरुवातपछि धक्का

कर्णाली याक्सले तीन खेलमा दुई जित र एक हार बेहोरेको छ । चार अंकसहित तेस्रो स्थानमा रहेको कर्णालीले प्रतियोगितामा राम्रो सुरुवात गरेको थियो ।

कर्णालीका लागि अरिफुल इस्लामको ब्याटिङ उल्लेखनीय छ । उनले प्रतियोगितामा ११९ रन बनाएका छन् । बलिङतर्फ सोमपाल कामी सात विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अगाडि छन् ।

कर्णालीले चार खेल खेल्न बाँकी छ । त्यसैले टोलीसँग आफ्नो स्थान सुधार गर्ने पर्याप्त अवसर छ । तर, काठमाडौंसँगको हारले बलियो योगफल बनाएर पनि खेल जोगाउन नसक्ने कमजोरी देखाएको छ ।

जनकपुर बोल्ट्स : निरन्तरताको अभाव

जनकपुर बोल्ट्सले चार खेलमा दुई जित र दुई हार बेहोरेको छ । चार अंकसहित चौथो स्थानमा रहेको जनकपुरको नेट रनरेट सकारात्मक छ । तर, पछिल्ला खेलमा उसले अपेक्षित निरन्तरता देखाउन सकेको छैन ।

जनकपुरका लागि विदेशी खेलाडी मोइन अलीको प्रदर्शन महत्त्वपूर्ण बनेको छ । उनले ब्याटिङसँगै बलिङमा पनि योगदान दिइरहेका छन् । अली सात विकेटसहित प्रतियोगिताका सर्वाधिक विकेट लिने बलरमध्ये एक हुन् ।

जनकपुरको मुख्य चुनौती मध्यक्रमको ब्याटिङ र दबाबपूर्ण अवस्थामा खेललाई आफ्नो पक्षमा पार्नु देखिएको छ । विराटनगरसँगको खेलमा दुई रनले पराजित हुनु त्यसैको उदाहरण हो ।

सुदूरपश्चिम रोयल्स : जित र हारबीच संघर्ष

सुदूरपश्चिम रोयल्सले चार खेलमा दुई जित र दुई हार बेहोरेको छ । चार अंक भए पनि कमजोर नेट रनरेटका कारण टोली पाँचौँ स्थानमा छ ।

सुदूरपश्चिमसँग प्रतिस्पर्धात्मक खेल खेल्ने क्षमता देखिए पनि टोलीको नेट रनरेट ऋणात्मक छ । त्यसैले अबका खेलमा जितसँगै ठूलो अन्तरको नतिजा निकाल्नु पनि उसको प्राथमिकता हुन सक्छ ।

चितवन राइनोज : कम खेल, तीन अंक

चितवन राइनोजले तीन खेल खेलेको छ । एक जित, एक हार र एक नतिजाविहीन खेलबाट तीन अंक जोडेको चितवन छैटौँ स्थानमा छ ।

छिमेकी लुम्बिनी लायन्ससँग चितवनको खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडिएको छ ।

चितवनले अहिलेसम्म तीनमध्ये दुई खेलमा मात्र नतिजा पाएको छ । त्यसैले टोलीको वास्तविक क्षमता मूल्यांकन गर्न बाँकी खेल महत्त्वपूर्ण हुनेछन् ।

चितवनले चार खेल खेल्न बाँकी रहेकाले प्लेअफको सम्भावना कायमै छ । तर, ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै जितको संख्या बढाउनु आवश्यक छ ।

काठमाडौं गोर्खाज : कम खेलबाट सम्भावनाको संकेत

काठमाडौं गोर्खाजले अहिलेसम्म दुई खेल मात्रै खेलेको छ । एक जित र एक हारबाट दुई अंक जोडेको काठमाडौं सातौँ स्थानमा छ ।

काठमाडौंले अझै पाँच खेल खेल्न बाँकी छ । त्यसैले अंकतालिकाको तल्लो स्थानमा रहे पनि टोलीलाई प्लेअफको दौडबाट बाहिरिएको मान्न सकिँदैन । आगामी खेलमा लगातार जित निकाल्न सके काठमाडौंको स्थिति बदलिन सक्छ ।

पोखरा एभेन्जर्स : तीन खेल, तीन हार

पोखरा एभेन्जर्सका लागि प्रतियोगिताको सुरुवात निराशाजनक बनेको छ । तीन खेल खेलेको पोखराले अहिलेसम्म जित निकाल्न सकेको छैन ।

पोखराको मुख्य समस्या ब्याटिङमा देखिएको छ । तीन खेलमा विपक्षी टोलीलाई पर्याप्त चुनौती दिन सक्ने योगफल बनाउन नसक्नु उसको कमजोर पक्ष बनेको छ ।

पोखराले अझै चार खेल खेल्न बाँकी छ । प्लेअफको सम्भावना जीवित राख्न अब उसलाई लगातार जित आवश्यक छ । आगामी खेलमा ब्याटिङ सुधार गर्न नसके टोलीको यात्रा कठिन बन्न सक्छ ।

व्यक्तिगत प्रदर्शनमा को अगाडि ?

टिमको प्रदर्शनसँगै व्यक्तिगत प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ । तथ्यांकअनुसार ब्याटिङ र बलिङ दुवैतर्फ खेलाडीहरूबीच प्रतिस्पर्धा देखिएको छ ।

सर्वाधिक रन बनाउने शीर्ष ब्याटर


सर्वाधिक विकेट लिने खेलाडी

यी तथ्यांकले नेपाली र विदेशी खेलाडी दुवैको योगदान प्रतियोगितामा महत्त्वपूर्ण रहेको देखाउँछन् ।

यस्तो छ प्लेअफको सम्भवना

एनपीएलको लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्नेछन् । आठ टोलीमध्ये अंकतालिकाका शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् । लिग चरणमा जित हात पार्ने टोलीले दुई अंक पाउँछ भने नतिजाविहीन खेलमा दुवै टोलीले एक–एक अंक पाउँछन् ।

अहिलेसम्मको अंकतालिका हेर्दा लुम्बिनी लायन्सले शीर्षस्थानमा आफूलाई बलियो बनाएको छ । विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिमबीच भने शीर्ष चारको स्थानका लागि प्रतिस्पर्धा देखिएको छ ।

चितवन र काठमाडौंले पनि प्लेअफमा पुग्ने सम्भावना कायम राखेका छन् । पोखराका लागि भने अबका खेल निकै महत्त्वपूर्ण हुनेछन् ।

विशेषगरी चार अंक भएका चार टोलीबीचको प्रतिस्पर्धामा नेट रनरेट निर्णायक बन्न सक्नेछ । समान अंक भएमा नेट रनरेटले टोलीको स्थान निर्धारण गर्ने भएकाले जितसँगै जितको अन्तर पनि महत्त्वपूर्ण हुनेछ ।

आगामी समीकरण कस्तो होला

बिहीबार लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । त्यही दिन काठमाडौं गोर्खाजले विराटनगर किंग्सको सामना गर्नेछ ।

लुम्बिनी र जनकपुरबीचको खेलले शीर्षस्थानको समीकरणमा प्रभाव पार्न सक्छ भने काठमाडौं र विराटनगरबीचको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण हुनेछ ।

समग्रमा, १३ खेल सकिँदासम्म एनपीएलको तेस्रो संस्करणमा कुनै पनि टोलीको प्लेअफ यात्रा निश्चित भएको छैन ।

लुम्बिनीले राम्रो सुरुवात गरेको छ भने विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा कडा देखिएको छ । चितवन र काठमाडौंसँग पुनरागमनको अवसर छ भने पोखरालाई जितको खाता खोल्नुपर्ने दबाब छ ।

लिग चरणका अझै धेरै खेल बाँकी रहेकाले आगामी दिनमा अंकतालिकाको समीकरण फेरिन सक्नेछ । यही अनिश्चितता र प्रतिस्पर्धाले यसपटकको एनपीएललाई थप रोमाञ्चक बनाएको छ ।