काठमाण्डु – सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)बाट दानबहादुर कार्कीलाई हटाएर मनोज कार्कीलाई नियुक्त गरेकोसहित पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा बनाउन नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्न लागेको हो।
कार्कीको बर्खास्ती, कार्कीको नियुक्ति, हालै सार्वजनिक इनम सापकोटाको अडियोमा सभापति गगन थापाले पार्टीलाई वैधानिकता दिलाउन १८ करोड खर्चे विषयमा बैठकमा छलफल गरिने एक नेताले बताए ।
पदाधिकारी बैठकमा के छलफल हुन्छ भन्ने काठमाण्डुपाटीको प्रश्नमा उपसभापति पुष्पा भुसालले, ‘देशमा विकसित पछिल्लो घटनाक्रम र विभिन्न विषयमा कुराकानी गर्न बोलाइएको हो। अरु विषय त थाहा भएन कांग्रेसको आवाज कमजोर बनाउनका लागि सरकारबाट विभिन्न प्रयत्न भइरहेका छन्। यसको पनि हामी छलफल गर्छौं।’
सभापति गगन थापा पक्राउको सूचना आएको हो भन्ने विषयमा आफूलाई जानकारी नभएको उनले बताइन्। तर कांग्रेसलाई दबाउनका लागि सरकारबाट जुनसुकै बेला विभिन्न षड्यन्त्र हुन सक्ने उनले आशंका गरेकी छन्।
इनम सापकोटाको विषयमा सरकारले निराधार कपोकल्पित र नियोजित आरोप लगाएर पार्टीको वैधानिकमाथि प्रश्न उठाउन खोजेको कांग्रेसको बुझाइ छ ।
साथै पार्टी संगठनको समसामयिक विषयमा पनि छलफल हुनेछ । पार्टीको जिल्ला र प्रदेशमा अधिवेशन हुन बाँकी रहेकोले ती विषयमा महामन्त्री र सहमहामन्त्रीहरूबीच छलफलका लागि बैठक बोलाइएको हो ।


प्रतिक्रिया