नबिलले ल्यायो भर्चुअल क्रेडिट कार्ड, एनबैंक एपबाटै आवेदन दिन र प्रयोग गर्न सकिने

नबिलले ल्यायो भर्चुअल क्रेडिट कार्ड, एनबैंक एपबाटै आवेदन दिन र प्रयोग गर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई थप सहज र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गते बिहीबारदेखि सञ्चालनमा आएको यो कार्ड ग्राहकले बैंकको एनबैंक मोबाइल एपमार्फत प्राप्त गर्न र प्रयोग गर्न सक्नेछन्।

नयाँ सुविधाअन्तर्गत ग्राहकले परम्परागत क्रेडिट कार्डका लागि आवश्यक कागजी प्रक्रिया र बैंक शाखामा पुग्नुपर्ने झन्झटबिना नै मोबाइल एपबाट आवेदन दिन सक्ने भएका छन्। एनबैंक एपको होमपेजमा रहेको ‘अप्लाइ नाउ’ विकल्पमार्फत योग्य ग्राहकले भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्ने बैंकले उल्लेख गरेको छ।

आफ्नै डेटामा आधारित विश्लेषणात्मक प्रणालीमार्फत योग्य ग्राहकहरू पहिचान गरी पूर्वस्वीकृत गरिसकिएको बैंक व्यवस्थापनले जनाएको छ। यस्ता ग्राहकले एनबैंक एपको होमपेजमा स्वतः ‘अप्लाइ नाउ’ विकल्प देख्न सक्नेछन्।

पूर्ण रूपमा डिजिटल स्वरूपमा उपलब्ध यो कार्ड फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी स्वीकार गर्ने व्यापारिक प्रतिष्ठानहरूमा प्रयोग गर्न सकिने भएको छ। यसबाट ग्राहकले दैनिक आवश्यकताका विभिन्न कारोबार मोबाइल बैंकिङ एपमार्फतै सुरक्षित र सहज रूपमा गर्न सक्नेछ बैंकले उल्लेख गरेको छ।

भर्चुअल क्रेडिट कार्ड सञ्चालनका लागि नबिल बैंक र फोन-पे पेमेन्ट सर्भिस लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। उक्त सहकार्यले डिजिटल भुक्तानी प्रणालीलाई थप विस्तार गर्नुका साथै ग्राहकलाई क्रेडिट सुविधामार्फत क्यूआर भुक्तानी गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहककेन्द्रित बैंकिङ सेवा र नवप्रवर्तनलाई प्राथमिकता दिँदै आएको बताए। उनले भर्चुअल क्रेडिट कार्डको सुरुवात बैंकको डिजिटल रूपान्तरणलाई तीव्रता दिने रणनीतिक योजनाको हिस्सा भएको उल्लेख गरे।

‘ग्राहकको सहजता नै हाम्रो प्राथमिकता हो। डिजिटल युगको आवश्यकता अनुरूप ग्राहकलाई सकेसम्म बैंक शाखामै पुग्न नपरी बैंकिङ सेवा उपलब्ध गराउने दिशामा हामी निरन्तर काम गरिरहेका छौं। नबिल भर्चुअल क्रेडिट कार्ड सोही प्रयासको एक महत्वपूर्ण हिस्सा हो’, ज्ञवालीले भने।

बैंकले ग्राहकको बदलिँदो आवश्यकता र डिजिटल वित्तीय सेवाप्रतिको बढ्दो मागलाई ध्यानमा राखेर यो सुविधा ल्याएको जनाएको छ। भर्चुअल कार्डले कर्जा सुविधाको पहुँचलाई सहज बनाउनुका साथै सुरक्षित, सरल र झन्झटरहित भुक्तानी अनुभव प्रदान गर्ने बैंकले अपेक्षा गरेको छ।

चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिलले हाल देशभर २६२ शाखा र ३१६ एटीएममार्फत सेवा दिँदै आएको छ। २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले एनबैंकमार्फत डिजिटल बैंकिङ सेवाको विस्तारलाई समेत प्राथमिकता दिएको छ। आगामी दिनमा पनि प्रविधिमैत्री र ग्राहकमुखी वित्तीय सेवा विस्तार गर्दै जाने बैंकले जनाएको छ।