काठमाण्डु– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ब्याटिङ र बलिङ दुवै विधामा घरेलु खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आफ्नो क्षमता देखाएका छन् ।
प्रतियोगिताका १३ खेल सम्पन्न भइसक्दा नेपाली खेलाडीको प्रदर्शनले विशेष चर्चा पाउन थालेको छ । यसअघिका संस्करणमा सुरुआती चरणमै विदेशी खेलाडीले बढी प्रभाव जमाउने गरेको भए पनि यसपटक नेपाली खेलाडीले पनि लगातार राम्रो प्रदर्शन गरिरहेका छन् । विशेषगरी युवा खेलाडीको प्रदर्शनले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ ।
ब्याटिङतर्फ विराटनगर किङ्सका नेपाली खेलाडी लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । उनले चार खेलबाट १६२.०६ को स्ट्राइक रेटमा १८८ रन जोडिसकेका छन् । यसक्रममा उनले दुई अर्धशतकसमेत प्रहार गरेका छन् ।
विराटनगरले पछिल्ला दुई खेलमा लगातार जित निकाल्दा लोकेशको ब्याटिङ निर्णायक बनेको थियो । आक्रामक ब्याटिङ शैली अपनाइरहेका उनले कम बलमै ठूलो स्कोर बनाउन सक्ने क्षमता देखाएका छन् ।
सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा विराटनगरकै विदेशी खेलाडी तथा वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल छन् । उनले चार खेलमा एक अर्धशतकको मद्दतमा १४१ रन बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित रसेलसँगै नेपाली ब्याटर शीर्ष स्थानमा रहनुले पनि यस संस्करणको एनपिएलमा घरेलु खेलाडीको बढ्दो प्रभावलाई देखाएको छ ।
लोकेशबाहेक नेपाली युवा ब्याटर पवन सर्राफ र इमरान शेखले पनि ब्याटिङमा राम्रो लय समातेका छन् । पवनले १०३ र इमरानले १०० रन बनाइसकेका छन् । व्यक्तिगत प्रदर्शनमा सुधार ल्याउँदै नेपाली खेलाडीले टोलीको जितमा समेत महत्वपूर्ण योगदान दिन थालेका छन् ।
विराटनगर किङ्सका निर्देशक दीपेन्द्र चौधरी एनपिएलमा नेपाली खेलाडीले देखाएको प्रदर्शनलाई नेपाली क्रिकेटका लागि सकारात्मक उपलब्धिका रूपमा लिन्छन् । प्रतियोगिताको सुरुआती चरणमै घरेलु खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता प्रमाणित गर्नु सुखद पक्ष रहेको उनी बताउछन् ।
ब्याटिङमा जस्तै बलिङमा पनि नेपाली खेलाडीले प्रभाव छाडिरहेका छन् । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी शीर्ष स्थानमा छन् । उनले तीन खेलमा ८.२० को इकोनोमी रेट कायम गर्दै सात विकेट लिएका छन् ।
सोमपालले विपक्षी ब्याटरलाई दबाबमा राख्दै निरन्तर प्रभावकारी बलिङ गरिरहेका छन् । कप्तानीको जिम्मेवारीसँगै ब्याटिङ र बलिङ दुवैमा उनको प्रदर्शन कर्णालीका लागि महत्वपूर्ण बनेको छ ।
सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा इङ्ल्यान्डका मोइन अली र श्रीलङ्काका एन्जेलो म्याथ्युज पनि छन् । उनीहरू दुवैले समान चार खेलमा सात–सात विकेट लिएका छन् ।
यस्तै, सुदूरपश्चिम रोयल्सका युवा स्पिनर अनिल खरेलले पनि बलिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले चार खेलमा ६.१२ को इकोनोमी रेटमा छ विकेट लिएका छन् । विपक्षी ब्याटरलाई सहज रूपमा रन बनाउन नदिने उनको क्षमताले सुदूरपश्चिमको बलिङ आक्रमणलाई थप बलियो बनाएको छ ।
जनकपुर बोल्ट्सबाट पहिलोपटक एनपिएल खेलिरहेका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादव पनि यस संस्करणका चर्चित खेलाडी बनेका छन् । उनले चार खेलमा सातको इकोनोमी रेटमा छ विकेट लिएका छन् । जनकपुरले हात पारेका दुई जितमा राहुलको योगदानसमेत महत्वपूर्ण रहेको छ ।
सानो उमेरमै ठूलो प्रतियोगितामा अवसर पाएका राहुलले आफ्नो बलिङ क्षमताबाट दर्शक र समर्थकको ध्यान आकर्षित गरेका छन् । उनी यस संस्करणमा ‘प्लेयर अफ दी म्याच’समेत घोषित भइसकेका छन् ।
अनुभवी विदेशी तथा राष्ट्रिय टोलीका खेलाडीसँगै मैदानमा उत्रिएर राहुलले देखाएको आत्मविश्वास र प्रदर्शन नेपाली क्रिकेटको भविष्यका लागि सकारात्मक रहेको जनकपुरमा आबद्ध इङ्ल्यान्डका चर्चित अलराउन्डर मोइन अलीले बताए । उनले राहुललाई ‘नेपाली मलिङ्गा’को उपमासमेत दिए ।
विराटनगर किङ्सका निर्देशक चौधरीका अनुसार एनपिएलले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग एउटै प्रतियोगितामा खेल्दै आफ्नो क्षमता परीक्षण गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । नेपाली खेलाडीको निरन्तर प्रदर्शन र आत्मविश्वासले घरेलु क्रिकेटको स्तरमा सुधार भइरहेको संकेत गरेको उनको भनाइ छ ।
उनले भने, “विगतका संस्करणमा सुरुआतदेखि नै विदेशी खेलाडीले प्रभाव जमाउँदै आएका थिए । तर, यसपालि नेपाली खेलाडीबाट पनि निरन्तर उत्कृष्ट प्रदर्शन देखिएको छ ।”
नेपाल क्रिकेट सङ्घ (क्यान) को पूर्वछनोट समितिका संयोजकसमेत रहेका चौधरीले प्रतियोगिताको बाँकी खेलमा पनि नेपाली खेलाडीले यही लय कायम राख्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया