काठमाण्डु– विराटनगर किङ्ग्सलाई पराजित गर्दै काठमाण्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित दर्ता गरेको छ।
बिहीबार भएको खेलमा काठमाण्डुले विराटनगरलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो। यो जितसँगै काठमाण्डुले अंक तालिकामा ४ अंक जोडेको छ।
पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको काठमाण्डुले दोस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो।
दोस्रो जित निकालेपछि काठमाण्डुसँगै विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिमको समान ४ अंक भएको छ। लुम्बिनी ७ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदा तीन खेलमा पराजित पोखरा पुछारमा छ। चितवनको ३ अंक छ।
विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाण्डुले ९.४ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटिएको हो ।
विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाए। उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजले २२ तथा बसिर अहमदले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एक समय ३५ रनमै ७ विकेट गुमाएको विराटनगरका लागि म्याथ्युज र रुपेशले आठौँ विकेटमा ३९ रनको साझेदारी गरेका थिए। उनीहरूको साझेदारीपछि विराटनगरले ८३ रन बनाएको थियो।
काठमाण्डुका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए। सहान अराचिगेले २ तथा जहानदान खानले २ विकेट हात पारे। करण केसी, शाहब आलम र देव शाहले समान १ विकेट लिए।


प्रतिक्रिया