काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन्।
नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा मिस्री बिहीबार लामिछानेसँग भेटवार्ता गर्न बूढानीलकण्ठस्थित उनको निवास पुगेका थिए। पहिले सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँग संवाद गरेपछि मिस्री बूढानीलकण्ठतिर लागेका थिए ।
भेटका क्रममा लामिछानेले आफ्नो यसअघिको औपचारिक भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा हुन लागेका दुई देशबीचका उच्चस्तरीय भ्रमणको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।
उनले नेपालले विकास र आर्थिक कूटनीतिलाई प्राथमिकता दिइरहेको पनि बताएका थिए।
भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध र त्यसलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ।
भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमणलाई प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीसँग पनि जोडेर हेरिएको छ।
मिस्रीले यसअघि प्रधानमन्त्री शाहसँग सिंहदरबारमा भेटवार्ता गरेका थिए। उक्त भेटमा पनि प्रधानमन्त्रीको भारत भ्रमण, द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको थियो।


प्रतिक्रिया