ब्रान्ड नेपाललाई विश्वमाझ चिनाउन सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल

ब्रान्ड नेपाललाई विश्वमाझ चिनाउन सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र समकालीन उपलब्धिलाई विश्वमाझ स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘ब्रान्ड नेपाल’ सम्बन्धी परियोजना प्रतिवेदन सार्वजनिक तथा नीतिगत संवाद कार्यक्रममा बोल्दै उनले नेपालको अन्तरराष्ट्रिय छवि र प्रतिष्ठालाई विकास तथा परराष्ट्र नीतिको महत्वपूर्ण रणनीतिक सम्पत्ति भएको बताए ।

उनले हिमाल, लुम्बिनी, सांस्कृतिक सम्पदा, नेपाली कला, हस्तकला, उद्यमशीलता र युवा नवप्रवर्तनलाई नेपालको पहिचानका रूपमा विश्वमाझ प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

‘राष्ट्रको प्रतिष्ठाले लगानीसम्बन्धी निर्णय, कूटनीतिक सम्बन्ध, उपभोक्ताको विश्वास र अन्तरराष्ट्रियजगत्मा देशको स्थान निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले ब्रान्ड नेपाल हाम्रो विकास आकाङ्क्षा र परराष्ट्र नीतिको अभिन्न हिस्सा हो’, उनले भने ।

खनालले ब्रान्ड नेपालको प्रवर्द्धनका लागि राष्ट्रिय सम्पदाको संरक्षण तथा मूल्य अभिवृद्धि, सार्वजनिक कूटनीतिमार्फत राष्ट्रिय पहिचान निर्माण र राष्ट्रिय पहिचानलाई रणनीतिक अवसरसँग जोड्ने तीन प्राथमिकता अघि सारे ।

उनका अनुसार जलविद्युत्, पर्यटन, डिजिटल सेवा, नवप्रवर्तन र सिर्जनशील उद्योग नेपालको अन्तरराष्ट्रिय सम्भावनाका प्रमुख क्षेत्र हुन् । यी क्षेत्रको विकासका लागि बौद्धिक सम्पत्ति अधिकार संरक्षण, गुणस्तर मापदण्ड र अन्तरराष्ट्रिय बजारसँगको पहुँच विस्तार आवश्यक रहेको उनले बताए ।

उनले सन् २०२७ मा पुनः आयोजना गर्ने तयारी रहेको सगरमाथा संवादले जलवायु परिवर्तन र दिगो विकासका विषयमा नेपालको अन्तरराष्ट्रिय भूमिका थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

नेपालको मौलिक पहिचानलाई आर्थिक अवसर र अन्तरराष्ट्रिय साझेदारीसँग जोड्दै विश्वमाझ विश्वसनीय तथा गतिशील राष्ट्रका रूपमा स्थापित गर्न सरकार लागिपरेको उनको भनाइ थियो ।

‘हामी नेपालको स्थापित पहिचानलाई अझ समृद्ध बनाउँदै समकालीन उपलब्धि र उदीयमान क्षमतालाई विश्वमाझ स्पष्ट रूपमा प्रस्तुत गर्न चाहन्छौँ । आफ्नो सम्पदाप्रति आत्मविश्वासी, दृष्टिकोणमा गतिशील र विश्वको प्रगतिमा योगदान पुर्याउने राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्ने हाम्रो परिकल्पना छ’, उनले भने ।