ममताले आत्महत्या गरेको नरेशको दाबी, भने-त्यसपछि आफैँले शरीर टुक्राटुक्रा पारेर फ्याँके

ममताले आत्महत्या गरेको नरेशको दाबी, भने-त्यसपछि आफैँले शरीर टुक्राटुक्रा पारेर फ्याँके

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाको भर्जिनियामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले पत्नीले आत्महत्या गरेको दाबी गरेका छन्।

तर उनले पत्नीको शव लुकाउन आराले शरीर टुक्राटुक्रा पारेको अदालतमा दिएको बयानका क्रममा स्वीकार गरेका छन्।

अदालतमा बिहीबार आफ्नो बचाउमा बयान दिँदै नरेशले सन् २०२४ जुलाई ३० को बिहान पत्नी ममतालाई घरको सुत्ने कोठामा मृत अवस्थामा फेला पारेको दाबी गरे।

उनका अनुसार ममता ओछ्यानको छेउमा बान्ता गरेको अवस्थामा थिइन्। उनको छेउमा विषाक्त किटनाशक पदार्थ ुसेल्फोसु को खुला प्याकेटसमेत रहेको उनले बताए।

नरेशका अनुसार जुलाई २९ को राति उनी आफ्नी शिशु छोरीसँगै राति करिब ८ बजे सुतेका थिए। राति करिब ४ बजे शौचालय जान उठ्दा असामान्य गन्ध आएपछि ममतालाई त्यो अवस्थामा देखेको उनको दाबी छ।

उनले ममतालाई करिब एक घण्टासम्म कृत्रिम श्वासप्रश्वास दिएर बचाउने प्रयास गरेको तर सफल नभएपछि बाथरुममा सारेको बयान दिएका छन्।

‘तपाईंले प्रहरीको आपत्कालीन नम्बर ९११ मा किन फोन गर्नुभएन ?’ उनका वकिल ट्रेसी लेनक्सले अदालतमा प्रश्न गरेका थिए। जवाफमा नरेशले आफूले फोन गर्ने प्रयास गरे पनि अत्यन्तै डराएको र आत्तिएको बताए।

तर पत्नीको मृत्यु भएको थाहा पाएपछि प्रहरीलाई खबर गर्नुको सट्टा शव लुकाउने योजना बनाएको उनले स्वीकार गरेका छन्।

सुरुमा शव पोटोम्याक नदीमा फाल्ने विचार गरेको र त्यसका लागि आवश्यक सामान खोज्न होम डिपो गएको उनको भनाइ छ।

घर फर्किएपछि आफूले झुन्डिएर आत्महत्या गर्ने तयारीसमेत गरेको तर पछि त्यसो नगरेको उनले बताए। त्यसपछि छोरीलाई हेरचाह गर्ने व्यक्तिको अपार्टमेन्टमा छाडेर शव फोहोरमा फाल्ने योजना बनाएको उनले अदालतमा बताए। तर शव पूरै फोहोरको कन्टेनरमा नअटाएपछि आराले शरीर काटेको उनले स्वीकार गरे।

आफ्नो बचाउमा बयान दिइरहेका नरेशले पत्नीको शरीर टुक्राटुक्रा पारेको स्वीकार गर्दा अदालतमा उपस्थित मानिसहरू स्तब्ध भएका थिए।

ममताको सन् २०२४ जुलाईदेखि अवस्था अज्ञात थियो। दुई वर्षभन्दा बढी समयसम्म नरेशले आफूलाई पत्नी कहाँ छिन् भन्ने थाहा नभएको बताउँदै आएका थिए। तर मुद्दाको सुनुवाइका क्रममा उनले पहिलोपटक पत्नीको मृत्युबारे यस्तो दाबी गरेका हुन्।

नरेशमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोग लागेको छ। पाँच सातादेखि चलिरहेको मुद्दामा उनको पछिल्लो बयानले घटनाबारे नयाँ प्रश्नहरू खडा गरेको छ।