काठमाण्डु- नेकपा एमालेका सचिव शेरधन राईले परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माण, संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
दक्षिण कोरियाको राजधानी सोलमा जारी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन ९आईक्याप० को १३औँ महासभालाई सम्बोधन गर्दै राईले अन्तर्राष्ट्रिय सम्बन्धमा द्वन्द्वभन्दा संवाद र टकरावभन्दा सहकार्य आवश्यक रहेको बताएका हुन् ।
नेपालका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधित्व गर्दै महासभामा सहभागी राईले नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने सिद्धान्तमा आधारित रहेको उल्लेख गरे ।
‘हामी प्रत्येक राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गर्छौँ। अन्तर्राष्ट्रिय समस्याहरू द्वन्द्वबाट होइन, संवादका माध्यमबाट समाधान हुनुपर्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने ।
नेपाल भारत र चीनजस्ता दुई ठूला छिमेकीको बीचमा रहेको उल्लेख गर्दै राईले दुवै देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले महत्त्व दिएको बताए । नेपालको भौगोलिक अवस्थिति राष्ट्रहरूलाई विभाजित गर्ने नभई जोड्ने माध्यम बन्नुपर्ने उनको भनाइ थियो ।
राईले अन्तर्राष्ट्रिय सम्बन्धको वास्तविक लाभ आम नागरिकको जीवनमा देखिनुपर्नेमा पनि जोड दिए । युवालाई रोजगारी, व्यवसायीलाई अवसर, विद्यार्थीलाई शिक्षा तथा प्रविधि र श्रमिकलाई सुरक्षा एवं सम्मान आवश्यक रहेको उनले बताए ।
नेपालमा जलविद्युत् तथा स्वच्छ ऊर्जाको क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले त्यसलाई जनताको समृद्धिसँग जोड्न अन्तर्राष्ट्रिय लगानी र प्रविधिको स्वागत गरिने बताए । विदेशमा काम गरिरहेका लाखौँ नेपाली श्रमिकको योगदानको प्रशंसा गर्दै उनीहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित हुनुपर्ने धारणा पनि राखे ।
जलवायु परिवर्तनमा नेपालको पीडा
महासभालाई सम्बोधन गर्ने क्रममा राईले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम र अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारीबारे पनि ध्यानाकर्षण गराए ।
भोटेकोशी क्षेत्रसहित नेपालका विभिन्न भागमा हालै भएका विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको र धेरै परिवारले घर, जीविकोपार्जनका आधार तथा सुरक्षाको अनुभूति गुमाएको उनले बताए ।
‘नेपालले विश्वव्यापी उत्सर्जनमा अत्यन्त न्यून योगदान गरेको छ, तर हाम्रा जनताले जलवायु परिवर्तनका गम्भीर जोखिम सामना गरिरहेका छन्,’ उनले भने, ‘जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्नेहरूलाई नै सबैभन्दा बढी पीडा भोग्नुपर्ने अवस्थामा छोडिनु हुँदैन ।’
जलवायु परिवर्तनबाट प्रभावित देशलाई सहानुभूतिमात्र नभई व्यावहारिक सहयोग, प्रविधि, लगानी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
‘जलवायु परिवर्तन कुनै एक देशको समस्या होइन । यो हामी सबैको साझा जिम्मेवारी हो,’ राईले भने ।
शान्ति र साझा भविष्यको सन्देश
राईले राजनीतिक विचार र पृष्ठभूमि फरक भए पनि संवादको ढोका बन्द गर्न नहुने बताए । विश्व समुदायले टकरावको सट्टा संवाद, विभाजनको सट्टा सहकार्य र द्वन्द्वको सट्टा शान्ति रोज्नुपर्ने उनको आग्रह थियो ।
उनले नेपालकी आमा, कोरियाका पिता र विश्वको कुनै पनि ठाउँका युवा विद्यार्थीका जीवनशैली फरक भए पनि उनीहरूका आशा र चाहना समान रहेको उल्लेख गरे ।
हरेक अभिभावकले आफ्ना सन्तान सुरक्षित रहून् भन्ने चाहने, युवाले अवसर खोज्ने र परिवारले शान्ति तथा राम्रो भविष्यको अपेक्षा गर्ने उनको भनाइ थियो ।
‘हाम्रा झण्डाहरू फरक हुन सक्छन् र हामीले बोल्ने भाषाहरू पनि फरक हुन सक्छन्, तर हाम्रो मानवता एउटै छ । हामीसँग एउटै विश्व छ र यो हामी सबैको साझा हो,’ उनले भने ।



प्रतिक्रिया