काठमाण्डु- सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो बयान सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रक्रियामा प्रश्न उठिरहेको छ।
गत असोज १४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका सापकोटामाथि अहिले जिल्ला प्रहरी परिसर काठमाण्डुको हिरासतमा अनुसन्धान अघि बढिरेहको छ।
अनुसन्धानकै क्रममा हिरासतमा रहेका उनको बयानको अडियो सामग्री सार्वजनिक भएपछि गोपनीयता र प्रमाणको सुरक्षा व्यवस्थामाथि प्रश्न पनि उठेको छ।
सत्ता र प्रतिपक्ष दुवै उच्च तहका व्यक्तिसँग सम्बन्ध रहेको भनिएका सापकोटामाथि प्रहरीले संवेदनशील अनुसन्धान गरिरहेका बेला अडियो बाहिरिएको थियो ।
शुक्रबार जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी दिलीप घिमिरेलाई पत्रकारले उक्त अडियो बाहिरिएकोबारे प्रश्न गर्दा प्रष्ट उत्तर दिएनन्।
‘तपाईंहरूको हिरासतमा रहेका व्यक्ति इनम सापकोटाको अडियो नै बाहिरिएको छ। बयानको अडियो भन्दै बाहिरिएपछि अनुसन्धान युनिट (काठमाण्डु परिसर) माथि पनि प्रश्न उठेको छ। यस्तो संवेदनशील विषयमा तपाईंहरूको जवाफदेहिता हुनुपर्ने हो। अडियो कसरी बाहिरियो? वा बाहिरिएको त्यो अडियो सत्य हो कि होइन?’, शुक्रबार घिमिरेलाई पत्रकारले सोधे।
जवाफमा एसएसपी घिमिरेले प्रहरीले अनुसन्धान भइरहेको मात्रै बताए । उनले अहिलेसम्म सापकोटाबारे आफूहरूले कुनै धारणा सार्वजनिक नगरेको जवाफ उनले दिए । ‘अनुसन्धान गर्ने एक मात्र निकाय प्रहरी हो। हाम्रो सम्बन्धमा कुरा गर्दा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिलेसम्म उहाँको सम्बन्धमा हामीले कुनै धारणा सार्वजनिक गरेका छैनौँ,’ घिमिरेले भने।
सार्वजनिक अडियोकै आधारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापालाई पक्राउ गर्न प्रहरी लागेको भन्ने चर्चा पनि बाहिरिएको भन्दै पत्रकारले प्रहरीसँग अर्को प्रश्न गरे। ‘इनमको अनुसन्धान तपाईंहरूले गरिरहेकाले पक्राउ गर्नुपर्ने आधार र प्रमाण फेला परेका हुन् वा सार्वजनिक भएका विषय मिथ्या हुन्?’ भन्ने प्रश्नमा पनि घिमिरेले अनुसन्धान जारी रहेको भनेर टारिदिए ।
‘अहिले अनुसन्धान जारी रहेकाले हामीले कसैका विरुद्ध पनि धारणा सार्वजनिक गरेका छैनौँ,’ घिमिरेले भने। अनुसन्धान पूरा भएपछि मात्रै इनम सापकोटाबारे विस्तृत जानकारी सार्वजनिक गर्ने जवाफ उनले दिएका छन्। तर उनले उक्त अडियोबारे थप प्रष्ट जवाफ दिन चाहेनन्।


प्रतिक्रिया