जनकपुरधाम- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ।
शुक्रबार नै सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई राजीनामा बुझाउन पार्टी नेतृत्वले निर्देशन दिइसकेको माधवकुमार नेपालको सचिवालयले जानकारी दिएको छ।
नेकपाका सहसंयोजक नेपालका सचिवालयका अनुसार मधेसमा नयाँ राजनीतिक समीकरण बन्ने भएपछि पार्टी सरकारबाट बाहिरिन लागेको हो।
मधेसमा नयाँ समीकरण निर्माणका लागि केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाबीच कुराकानी भएको थियो।
मधेसमा नेकपा एमाले, नेकपा र जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ समीकरण बन्ने चर्चा भए पनि त्यसबारे औपचारिक निर्णय सार्वजनिक भएको छैन।
अहिले मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन्। उनी प्रदेशसभामा अल्पमतमा परेका छन्। उनले अबको आठ दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था छ।
सोहीअनुसार केन्द्रबाट सर्कुलर भएपछि एमाले, नेकपा र जसपा नेपालको सहभागितामा नयाँ सरकार बन्ने चर्चा छ।
तर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नयाँ समीकरणमा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णयमा पुगिसकेका छैनन्। उनको अनिर्णयका कारण मधेसमा नयाँ सरकार गठनको प्रक्रिया अन्योलमा परेको छ।
नेकपाले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको थियो। तर, राउत भने सरकारमा सहभागी नहुने पक्षमा देखिएका छन्।


प्रतिक्रिया