भारतीय राजदूत दलेलाले राष्ट्रपति पौडेलसमक्ष पेस गरे ओहोदाको प्रमाणपत्र

भारतीय राजदूत दलेलाले राष्ट्रपति पौडेलसमक्ष पेस गरे ओहोदाको प्रमाणपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित समारोहमा दलेलाले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

ओहोदाको प्रमाणपत्र पेस गर्न नवनियुक्त राजदूतहरूलाई नेपाली सेनाको घोडचढी टोलीले सवारीसहित राष्ट्रपति कार्यालय पुर्‍याउने परम्परा छ।

भारत, लाओस र पानामाका नवनियुक्त राजदूतहरूलाई पनि सेनाको घोडचढी टोलीले राष्ट्रपति कार्यालय पुर्‍याएको थियो।

नेपालले सन् १८१६ मा बेलायतसँग पहिलो कूटनीतिक सम्बन्ध स्थापना गरेदेखि नै राष्ट्रप्रमुखसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्न जाने राजदूतहरूलाई घोडाले तान्ने बग्गीमा सवार गराउने परम्परा कायम राखेको छ।

दलेला गत मंगलबार काठमाडौं आइपुगेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। भारतले गत असोज ३० गते उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो।

भारतीय विदेश सेवाका वरिष्ठ कूटनीतिज्ञ दलेलाले सन् १९९३ मा सेवामा प्रवेश गरेका थिए। उनले इजरायल, ब्राजिल, अमेरिका, बंगलादेश, स्विट्जरल्यान्ड र भुटानलगायतका देशमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालेका छन्।

उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए। यसअघि नेपालका लागि भारतीय राजदूत रहेका नवीन श्रीवास्तव कार्यकाल पूरा गरी भारत फर्किसकेका छन्।