रास्वपाको ७ बुँदे निर्देशन : पद र पहुँचका आधारमा टिकट नपाउने

रास्वपाको ७ बुँदे निर्देशन : पद र पहुँचका आधारमा टिकट नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत बनाउन ७ बुँदे निर्देशन जारी गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको निर्देशनमा पद, व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद वा अन्य कुनै पनि अनुचित प्रभावका आधारमा उम्मेदवार छनोट नगर्न भनिएको छ।

केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीका अनुसार पार्टीका विभिन्न तहमा हुने अधिवेशन, आन्तरिक निर्वाचन तथा सार्वजनिक निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।

आयोगले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण गतिविधि पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । कुनै पनि तहमा अनधिकृत वा समानान्तर प्रक्रिया सञ्चालन गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।

त्यस्तै व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब, धम्की वा अन्य कुनै पनि अनुचित प्रभाव प्रयोग गरी निर्वाचन तथा उम्मेदवार छनोट प्रक्रिया प्रभावित गर्न नहुने निर्देशनमा उल्लेख छ। सबै योग्य सदस्य तथा उम्मेदवारलाई समान अवसर सुनिश्चित गर्नुपर्ने आयोगले जनाएको छ।

स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटमा आवेदन दिनु नै उम्मेदवारीको अन्तिम सुनिश्चितता नहुने आयोगले स्पष्ट पारेको छ। आवेदन दिएका आधारमा आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट उम्मेदवारी घोषणा गर्ने तथा प्रचारप्रसार गर्ने कार्यलाई विधिविपरीत मानिनेछ ।

नेतृत्व विकास कार्यक्रम, योग्यता परीक्षण, मूल्यांकन, प्रारम्भिक निर्वाचनलगायत तोकिएका सबै प्रक्रिया पूरा भएपछि मात्र पार्टीले उम्मेदवारको अन्तिम निर्णय गर्ने जनाएको छ ।

यसैगरी बाँकी रहेका वडा, पालिका, जिल्ला तथा प्रदेश तहका अधिवेशनको तयारी र प्रक्रिया अघि बढाउँदा सम्बन्धित माथिल्लो तहका पार्टी नेतृत्व तथा विभागसँग आवश्यक परामर्श र समन्वय गर्न निर्देशन दिइएको छ ।

सम्बन्धित अधिवेशनको आधिकारिक मिति र कार्यतालिका घोषणा हुनुअघि कुनै पनि सदस्यले नेतृत्वका लागि आफ्नो उम्मेदवारी घोषणा वा प्रचारप्रसार गर्न नपाउने आयोगले जनाएको छ।

अध्यक्ष केसीले पार्टीको निर्वाचन तथा उम्मेदवार छनोट प्रक्रिया व्यक्तिगत पहुँच वा पदको प्रभावमा नभई तोकिएको विधि, योग्यता र निष्पक्ष मूल्याङ्कनका आधारमा अघि बढ्ने जानकारी दिए । उनका अनुसार पार्टीभित्रको निर्वाचन र उम्मेदवार छनोट प्रक्रियामा सबै योग्य सदस्यलाई समान अवसर प्रदान गरिनेछ ।