काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सरकारसहित कसैले पक्राउ गर्न नसक्ने बताएका छन्।
सरकारले सभापति गगनमाथि निगरानी बढाएको चर्चा भइरहेका बेला प्रचण्डले उनको बचाउ गरेका हुन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाको एक कार्यक्रम सकेर बाहिरिने क्रममा पत्रकारहरूले राखेको जिज्ञासामा प्रचण्डले सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य, मान्यता तथा मर्मभन्दा बाहिर जान खोजेको टिप्पणी गरे।
‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्य, मान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ। यो निकै चिन्ताको विषय छ देश र जनताको लागि पनि। गगनजीको कुरा गर्नुभयो, उहाँलाई पक्रिन कसैले सक्दैन,’ उनले भने।
नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनसम्बन्धी विवादबारे पनि प्रचण्डले अदालतले निर्णय गर्ने विश्वास व्यक्त गरे। उक्त विषय अदालतमा पुगिसकेकाले आफूले त्यसबारे टिप्पणी गर्न उचित नहुने उनको भनाइ थियो।
पछिल्लो समय सरकारका विभिन्न गतिविधिलाई लिएर प्रतिपक्षी दलहरू एकजुट हुन थालेका छन्। उनीहरूले संसद् बैठक बोलाउन माग गरिरहेका छन्। सरकारले भने मंसिरको दोस्रो वा तेस्रो सातादेखि संसद् बैठक बोलाउने तयारी गरेको बताइएको छ।


प्रतिक्रिया