काठमाण्डु– प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुनःनिर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनःनिर्माणको लागि जाइकासँग २ अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो । डिभिजन प्रमुख सुमन योगेशले जाइकाले हालै काम सुरु गरेको जानकारी दिए । यस्तै, पिप्लेदेखि काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीसम्मको खण्डमा पुनिःनिर्माणको काममा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको बताए ।
उनका अनुसार डालाबेँशीदेखि चारसयबेँशीसम्म (८.५) पुनःनिर्माणको जिम्मा पाएको खानी–एवान–कमलजीत जेभीले २०८४ को जेठ अन्त्यसम्म निर्माणको काम सम्पन्न गर्ने जनाएको छ ।
यस्तै चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्म (११.८) सडक लामा–नवकान्तिपुर जेभीले आगामी ०८४ असार १७ गतेभित्र काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको योगशेको भनाइ छ । यसैगरि पिप्लेदेखि डालोबेँशी (२.३) सडकखण्डको जिम्मा पाएको उमा एण्ड कम्पनी–भण्डारी जेभीको २०८४ कात्तिक २६ गतेसम्म निर्माण सक्नेछ । उनले भने ‘विपी राजमार्ग पुनःनिर्माणको काम लक्ष्य अनुरुप नै भइरहेको छ ।’
विसं २०८१ असोज दोस्रोसाता रोशी खोलाको बाढीका कारण विपी राजमार्गको काभे्रपलाञ्चोक नमोबुद्धस्थित दाप्चाखोला १ नं पुलदेखि सिन्धुलीको नेपालथोकसम्म २९ किमी सडक पूर्णरूपमा क्षति भएको थियो ।
क्षतिग्रस्त राजमार्गमध्ये काभ्रेपलाञ्चोकतर्फको २५.११ किमी सडक ३ खण्डमा पुनःनिर्माणको काम भइरहेको छ । आगामी वर्षायाम अघि नै निर्माणाधीन तीन खण्डमा एक लेयरको कालोपत्रे गर्ने गरी तयारी भइरहेको योगेशले बताए । उनका अनुसार बाढीबाट क्षतिग्रस्त विपी राजमार्ग ‘डेडिकेटेड डबल लेन’मा पुनःनिर्माण भइरहेको हो ।
सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकभित्र पर्ने पिप्लेदेखि डालाबेँशीसम्मको २.३ किमी सडक पुनःनिर्माण गर्न उमा एण्ड कम्पनी–भण्डारी अमरज्योती जेभीसँग ६८ करोड ८० लाख, डालाबेँशीदेखि चार सयबेँशीसम्मको सडकका लागि लामा–नव कान्तिपुर जेभीसँग रु एक अर्ब ४२ करोड र चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्मको सडक पुनःनिर्माणका लागि खानी–एवान–कमलजीत जेभीसँग १ अर्ब ३३ करोडमा सम्झौता भएको छ ।
यसैबीच वीपी राजमार्गमा हाल पुनःनिर्मित सडकबाटै सवारी आवागमन गराएको जनाइएको छ । चौकीडाँडा र पिन्थलीमा भिरालो भएकाले हाल मर्मत भइराखेको र डाइभर्सन गरिएको छ । डालाबेँसी–पिप्ले खण्डमा पनि त्यस्तै व्यवस्था गरिएको छ ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–०५४ देखि विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न भएको राजमार्ग विसं २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।


प्रतिक्रिया