काठमाण्डु– कुकुर तिहारका अवसरमा बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा विशेष कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा तालिमप्राप्त कुकुरहरूले अपराधीको खोजी, विस्फोटक पदार्थ तथा हातहतियार पहिचान र विपद्का बेला खोज तथा उद्धारसम्बन्धी सीप प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा सीमाक्षेत्रमा परिचालन हुने विस्फोटक पदार्थ तथा हातहतियार पहिचान गर्ने कुकुर, अपराधीको खोजीमा प्रयोग हुने ट्र्याकर डग र भूकम्पजस्ता विपद्का बेला भग्नावशेषमा पुरिएका मानिसको खोजी तथा उद्धारमा परिचालन हुने कुकुरले आफ्नो क्षमता प्रस्तुत गरेका थिए।
साथै, कुकुरलाई दिइने आधारभूत तालिम र अनुशासनसम्बन्धी अभ्याससमेत प्रदर्शन गरिएको थियो।

सशस्त्र प्रहरीका अनुसार भोटेकोशी बाढीपहिरोका क्रममा तीनवटा कुकुर परिचालन गरी २० वटा शव फेला पार्न सहयोग गरिएको थियो। कार्यक्रममा कुकुरलाई टीका, माला र मिठा खानेकुरा खुवाएर पूजा गरिएको थियो।















प्रतिक्रिया