चीनलाई सामरिक सन्देश दिँदै भारत, एलएसी नजिकैको एयर बेसमा उत्रियो रूसमा निर्मित मालवाहक विमान

चीनलाई सामरिक सन्देश दिँदै भारत, एलएसी नजिकैको एयर बेसमा उत्रियो रूसमा निर्मित मालवाहक विमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लद्दाख– भारतीय वायुसेनाको भारी सैन्य मालवाहक विमान आईएल–७६ एमडीले लद्दाखस्थित न्योमा एयरफिल्डमा सफल अवतरण गर्दै विश्व कीर्तिमान कायम गरेको छ।

भारतीय वायुसेनाका अनुसार समुद्री सतहबाट १३ हजार ६२९ फिटको उचाइमा रहेको न्योमा विमानस्थलमा आईएल–७६ एमडी विमान अवतरण गराइएको हो। यो विमानको विश्वकै सबैभन्दा बढी उचाइमा गरिएको अवतरण भएको भारतीय वायुसेनाको दाबी छ।

वायुसेनाले सामाजिक सञ्जाल एक्समार्फत विमान अवतरणका तस्बिर र भिडियो सार्वजनिक गर्दै यसलाई उड्डयन इतिहासको नयाँ उपलब्धि भनेको छ। ‘१३ हजार ६२९ फिट, उड्डयन इतिहासमा नयाँ उचाइ’, वायुसेनाले लेखेको छ।

पूर्वी लद्दाखमा अवस्थित न्योमा एयरफिल्ड चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिक पर्छ। यो क्षेत्र चीनसँगको तनाव या युद्धको अवस्थामा रणनीतिक हिसाबले भारतका लागि महत्त्वपूर्ण मानिन्छ।

चीनतर्फ एलएसीबाट करिब २५ किलोमिटरको दूरीमा रहेको यस विमानस्थलमा अत्यधिक उचाइका कारण विमान सञ्चालन चुनौतीपूर्ण हुन्छ।

उचाइ बढ्दै जाँदा हावाको घनत्व घट्ने भएकाले विमानको लिफ्ट उत्पादन र इन्जिनको कार्यक्षमतामा असर पर्छ। त्यसैले यति उच्च स्थानमा ठूलो सैन्य मालवाहक विमान अवतरण गराउन विशेष प्राविधिक तयारी, सावधानी र दक्षता आवश्यक हुन्छ।

रुसमा निर्मित आईएल-७६ एमडी चारवटा इन्जिन भएको भारी सैन्य परिवहन विमान हो। यसले सैनिक, सैन्य उपकरण तथा अत्यावश्यक सामग्री ओसारपसार गर्न सक्छ। भारतीय वायुसेनाले दुर्गम तथा रणनीतिक महत्त्वका क्षेत्रमा सैनिक र सामग्री पुर्‍याउन यो विमान प्रयोग गर्दै आएको छ।

यस उपलब्धिले भारतीय वायुसेनाको रणनीतिक हवाई परिवहन क्षमता र उच्च हिमाली क्षेत्रमा सैन्य परिचालनको क्षमतालाई थप बलियो बनाएको भारतीय पक्षको भनाइ छ।

यसैबीच, भारतको सत्तारूढ नरेन्द्र मोदी नेतृत्वको सरकार र भारतीय वायुसेनालाई बधाई दिँदै यसलाई लद्दाखका लागि गौरवको क्षण तथा भारतको रणनीतिक तयारीको प्रमाणका रूपमा व्याख्या गरिएको छ।

न्योमा एयरबेसको चीनसँगको सीमा तनावसँग प्रत्यक्ष रणनीतिक सम्बन्ध छ। यो सन् २०२० को भारत-चीन सैन्य तनावपछि भारतले पूर्वी लद्दाखमा सैन्य पूर्वाधार र सैनिक परिचालन क्षमता विस्तार गर्ने क्रममा विकास गरेको महत्त्वपूर्ण सैन्य आधार बनेको छ ।

यसको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने अब भारतले भारी सैन्य परिवहन विमानमार्फत सैनिक, ट्यांक, बख्तरबन्द गाडी र अन्य सैन्य सामग्री चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै पुर्‍याउन सक्छ।

यसले संकटका बेला सैनिक परिचालन र रसद आपूर्तिको समय घटाउन सक्छ। भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसले प्रकाशित गरेको समाचारमा आईएल–७६ को अवतरणलाई पूर्वी लद्दाखमा भारतको रणनीतिक हवाई परिवहन क्षमताका लागि महत्त्वपूर्ण उपलब्धि भनेको छ।

चीनसँगको तनावमा किन महत्त्वपूर्ण न्योमा एयरबेस?

भारतले न्योमा एयरबेसलाई स्तरोन्नति गर्नुको प्रमुख रणनीतिक पृष्ठभूमि सन् २०२० मा भारत र चीनबीच पूर्वी लद्दाखमा भएको सैन्य तनाव हो।

सन् २०२० मेदेखि सीमा क्षेत्रमा तनाव बढ्दै गएको थियो। सोही वर्ष जुनमा गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंसात्मक झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसपछि दुवै देशले सीमावर्ती क्षेत्रमा सैनिक उपस्थिति, सैन्य सामग्री र पूर्वाधार विस्तारलाई तीव्रता दिएका थिए।

त्यसक्रममा भारतले पूर्वी लद्दाखमा सैनिक परिचालन र रसद आपूर्ति सहज बनाउन सडक, पुल, सुरुङ तथा हवाई पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो। न्योमा एयरबेस पनि त्यही रणनीतिक योजनाको एउटा महत्त्वपूर्ण हिस्सा रहेको द ट्रिब्युनले उल्लेख गरेको छ।

भारतको सीमा सडक संगठन (बीआरओ) ले करिब २१८ करोड भारतीय रुपैयाँको लागतमा न्योमा एयरबेस स्तरोन्नति गरेको हो। करिब तीन किलोमिटर लामो धावनमार्गको यस एयरबेसलाई सन् २०२५ नोभेम्बरमा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको थियो। त्यसबेला भारतीय वायुसेना प्रमुख एपी सिंहले सी-१३०जे सुपर हरक्युलिस विमान अवतरण गराएका थिए।

न्योमा एयरबेसको सबैभन्दा ठूलो रणनीतिक महत्त्व चीनसँगको वास्तविक नियन्त्रण रेखाबाट यसको निकटता हो। करिब २५ किलोमिटरको दूरीमा रहेको यस एयरबेसबाट भारतीय सेनाले पूर्वी लद्दाखका संवेदनशील सीमावर्ती क्षेत्रमा सैनिक, हतियार, सैन्य उपकरण र अत्यावश्यक सामग्री छिटो पुर्‍याउन सक्छ।

विशेषगरी डेमचोक र देप्साङ क्षेत्रको सैन्य व्यवस्थापन तथा रसद आपूर्तिका लागि यो एयरबेस उपयोगी हुन सक्छ। यसअघि भारी सैन्य सामग्री लैजान भारतले लेह र थोइसजस्ता तुलनात्मक रूपमा टाढाका हवाई आधारमा बढी निर्भर रहनुपर्थ्यो। न्योमामा ठूला विमान सञ्चालन गर्न सकिने भएपछि त्यो निर्भरता घटाउन सहयोग पुग्नेछ।

आईएल–७६ एमडी विमानले एकपटकमा करिब ४० देखि ४५ टनसम्म सामग्री बोक्न सक्छ। यसबाट ट्यांक, बख्तरबन्द सैन्य गाडी र अन्य भारी उपकरणसमेत ढुवानी गर्न सकिन्छ। सन् २०२० को भारत-चीन सैन्य तनावका बेला पनि भारतीय वायुसेनाले आईएल-७६ विमानमार्फत पूर्वी लद्दाखमा भारी सैन्य सामग्री पुर्‍याएको थियो।

त्यसैले न्योमामा यस विमानको सफल अवतरणलाई केवल प्राविधिक उपलब्धि नभई चीनसँगको सीमावर्ती क्षेत्रमा भारतको सैन्य रसद क्षमता विस्तारको संकेतका रूपमा पनि हेरिएको छ।

यद्यपि भारत र चीनबीच सन् २०२४ अक्टोबरमा सीमावर्ती क्षेत्रमा गस्ती र सैनिक पछाडि हटाउने विषयमा सहमति भएपछि तनाव व्यवस्थापनमा केही प्रगति भएको छ।

तर पूर्वी लद्दाखमा पूर्ण सैन्य तनाव न्यूनीकरणको प्रक्रिया अझै महत्त्वपूर्ण रणनीतिक विषय रहँदै आएको छ। यस्तो अवस्थामा न्योमा एयरबेसको सञ्चालन र भारी सैन्य विमानको अवतरणले भारतलाई सीमावर्ती क्षेत्रमा आवश्यक पर्दा छिटो सैनिक परिचालन तथा सैन्य सामग्री आपूर्ति गर्ने थप क्षमता दिएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।