टोकियो- जापानमा शनिबार राति ५.७ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन्। भूकम्पका कारण विभिन्न स्थानमा पसलका सिसा फुटेका छन् भने त्रासले स्थानीय बासिन्दा घर तथा भवनबाट बाहिर निस्किएका थिए।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु शिजुओका प्रान्तमा जमिनको सतहबाट करिब ४० किलोमिटर गहिराइमा थियो। सबैभन्दा तीव्र धक्का आइची प्रान्तमा महसुस गरिएको थियो।
यो नोभेम्बर महिनामा जापानमा गएको तेस्रो शक्तिशाली भूकम्प हो। यसअघि नोभेम्बर १ मा ६ म्याग्निच्युड र नोभेम्बर ७ मा ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो।
जापानको मौसम विज्ञान एजेन्सीले आगामी एक सातासम्म भूकम्पीय गतिविधिप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी आगामी दुईदेखि तीन दिनभित्र थप शक्तिशाली धक्का महसुस हुन सक्ने चेतावनी दिइएको छ।
बुलेट ट्रेनको गति घटाइयो
भूकम्पपछि प्रभावित क्षेत्र भएर सञ्चालन हुने शिन्कानसेन बुलेट ट्रेनको गति घटाइएको छ। रेलमार्गमा क्षति पुगेको हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षात्मक उपायस्वरूप रेलको गति कम गरिएको हो।
भूकम्पका कारण रेलको लिकमा क्षति पुगेको अवस्थामा तीव्र गतिमा गुड्ने रेल दुर्घटनामा पर्न सक्ने भएकाले रेलवे प्रशासनले सतर्कता अपनाएको हो।
भूकम्पको उच्च जोखिम
जापान विश्वमै भूकम्पको उच्च जोखिम भएका मुलुकमध्ये एक हो। चार ठूला टेक्टोनिक प्लेटको संगम क्षेत्रमा रहेको जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रभित्र पर्छ। यहाँ हरेक वर्ष करिब १ हजार ५०० भूकम्प जाने गरेका छन्। तीमध्ये अधिकांश सामान्य प्रकृतिका हुन्छन्।
सन् २०२४ मा जापानको नोटो प्रायद्वीपमा गएको शक्तिशाली भूकम्पमा करिब ६०० जनाको मृत्यु भएको थियो। यसअघि सन् २०११ मा गएको ९ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीका कारण १८ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए।
जापान सरकारले आगामी ३० वर्षभित्र ठूलो भूकम्प जाने सम्भावना ७५ देखि ८२ प्रतिशतसम्म रहेको आकलन गरेको छ। यस्तो भूकम्प आएमा करिब २ लाख ९८ हजार मानिसको मृत्यु हुन सक्ने र २ ट्रिलियन अमेरिकी डलरसम्म आर्थिक क्षति पुग्न सक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया