काठमाण्डु- काग, कुकुरदेखि गाई, गोरुसम्म पशुपंक्षीको पूजा गरिने तिहारको मौलिक सांस्कृतिक महत्त्व नयाँ पुस्तासम्म पुग्न नसकेको भन्दै संस्कृतिविद्हरूले यसको अध्ययन, संरक्षण र प्रचारप्रसारमा जोड दिएका छन् ।
नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकका अवसरमा धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन) ले आयोजना गरेको ‘तिहार र देउसी–भैलोको सांस्कृतिक महत्त्व’ विषयक अन्तरक्रियामा संस्कृतिविद्हरूले तिहारका धार्मिक तथा सांस्कृतिक पक्षलाई नयाँ पुस्ताले बुझ्ने गरी प्रस्तुत गर्नुपर्ने बताएका हुन् ।
गुठी संस्थानका अध्यक्ष एवम् संस्कृतिविद् डा. गोविन्द टण्डनले काग, कुकुर, गाई, गोरु, हली, बलि राजा, यमराज, यमुना तथा दाजुभाइ–दिदीबहिनीको पूजा हुने तिहारको बहुआयामिक सांस्कृतिक महत्त्व अहिलेको पुस्तासम्म पुग्न नसकेको बताए ।
यस्ता पक्षको गहिरो अध्ययन गरी जनसमक्ष प्रस्तुत गर्न सञ्चारजगत्ले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । सञ्चारको विकास नभएको प्राचीन समयमा कागको बोलीकै आधारमा शुभ–अशुभ खबर थाहा पाउने ज्ञान र परम्परा रहेको उल्लेख गर्दै उनले यस्तो ज्ञान अहिले लोपोन्मुख अवस्थामा पुगेको बताए ।
नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा. डा. नवराज कट्टेलले तिहारजस्ता पर्वले साधना, प्रकृतिको उतारचढाव र सबै प्राणीलाई मानवीय व्यवहार गर्दै सम्मान गर्नुपर्ने सन्देश दिने बताए।
यस्ता पर्वको मर्म नयाँ पुस्तासम्म पुर्याउन पत्रकारिता क्षेत्रबाट प्रभावकारी सन्देश प्रवाह हुनुपर्ने उनको भनाइ थियो ।
तिहारले नेपाली समाजमा सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ बनाउनसमेत भूमिका खेल्ने भएकाले यसको सांस्कृतिक पक्षको प्रवर्द्धनमा सबै सरोकारवालाले ध्यान दिनुपर्ने उनले बताए ।
पूर्वमन्त्री एवं संस्कृतिविद् डा. कान्ता भट्टराईले काग, कुकुर, गाई र गोरुको महत्त्व अहिलेको पुस्ताले बिर्संदै गएको बताइन् ।
कागको नरम र कर्कश आवाजका आधारमा त्यसले दिन खोजेको सन्देश बुझ्ने पुरानो ज्ञान र पुस्ता पनि घट्दै गएको उनको भनाइ थियो ।
संस्कृतिविद् प्रा. डा. ध्रुवप्रसाद भट्टराईले कागलाई नैतिक शिक्षा दिने पंक्षीका रूपमा व्याख्या गर्दै यसको सांस्कृतिक महत्त्वबारे पर्याप्त चर्चा हुन नसकेको बताए ।
कागलाई न्याय गर्ने पंक्षीका रूपमा लिइने र प्राचीनकालदेखि नै ‘काक न्याय’ को चर्चा हुँदै आएको उनले उल्लेख गरे । तिहार शब्दको उत्पत्तिबारे विभिन्न मत रहेको उल्लेख गर्दै उनले तिथि र बार मिलेर तिहार बनेको भन्ने व्याख्या बढी सान्दर्भिक हुन सक्ने आफ्नो धारणा राखे ।
सांस्कृतिक अभियानकर्मी कल्पना मगरले नेपाली मौलिक संस्कृति वैज्ञानिक दृष्टिले समेत अनुसरणयोग्य भए पनि पछिल्लो पुस्तामा यसको महत्त्वबारे जानकारी कम हुँदै गएको बताइन् । यस विषयमा सरोकारवाला निकाय र अधिकारीको ध्यान जानुपर्ने उनको जोड थियो ।
रेक्जोनका अध्यक्ष पूर्णप्रसाद मिश्रले विगत वर्षदेखि नै यमपञ्चक तथा देउसी–भैलो संस्कृतिका विषयमा संस्कृतिविद् र धर्मशास्त्रविद्लाई सहभागी गराएर बहस सुरु गरिएको बताए । यस वर्ष दोस्रोपटक कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गर्दै उनले आगामी वर्षदेखि अझ बृहत् रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रणवानन्द आश्रमका स्वामी रुद्रानन्द, रेक्जोनका कार्यवाहक महासचिव जयराम सापकोटालगायतले पनि तिहारको सांस्कृतिक महत्त्वलाई थप उजागर गर्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया