काठमाण्डु – दैलेखमा बिरामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको दुर्घटनामा परेर ६ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सन्नित्रिवेणि गाउँपालिका–७, कालिकोटका ४१ वर्षीय रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
सोमबार बिहान गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार उक्त गाडी बिरामीलाई अक्सिजनसहित उपचारका लागि कालिकोटबाट सुर्खेततर्फ लैजाने क्रममा दुर्घटनामा परेको हो ।
दुर्घटनामा गाडी चलाक सान्नी त्रिवेणी गाउँपालिका–७ कालिकोटका २२ वर्षीय योगेश सिम्खडा गम्भीर घाइते भएका छन् ।
चालक सिम्खडाको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाइते हुनेमा सोही ठाउँका १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा, ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसी सार्की छन् । कैसी बिरामी हुन् । घाइते सबैलाई उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।


प्रतिक्रिया